विराट शिक्षण अस्पतालमा उपचाररत पाँच जनाले जिते कोरोना

विराटनगर, १६ भदौ । बुुढीगंगा गाउँपालिका–२ मा रहेको विराट शिक्षण अस्पतालबाट पाँच जना कोरोना भाइरस संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । मंगलबार एक पुरुष र चार महिला संक्रमणमुक्त भएर डिस्चार्ज भएका हुन् ।

संक्रमणमुक्त भएका ६९ वर्षीय वृद्धाबाहेक अन्य चारजना कलेजकै कर्मचारी हुन् । कोभिड अस्पतालका इञ्चार्ज आयुुश्मा शाक्यका अनुसार पीसीआर परीक्षणमा नतिजा नेगेटिभ आएपछि पाँच जनालाई डिस्चार्ज गरिएको हो ।

अस्पतालले कोभिड संक्रमितको उपचारपश्चात डिस्चार्ज गरेको यो पहिलोपटक हो । आफ्नो अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण भइहाले आइसोलेशनमा राख्न र उपचारका निम्ति निर्माण गरिएको कोभिड अस्पतालमा ६० वटा बेड रहेको इन्चार्ज शाक्यले बताइन् ।

‘अस्पतालमा ३८ साधारण र २२ क्याबिन बेड सञ्चालनमा छन्,’ शाक्यले भनिन्, ‘यदि संक्रमितको अवस्था गम्भीर भइहाले भेन्टिलेटरको पनि व्यवस्था गरिएको छ ।’

अस्पतालमा १५ कोरोना संक्रमितको उपचार गराइरहेका छन् । जसमध्ये १२ जना अस्पतालका कर्मचारी हुन् भने तीन जना अन्य सर्वसाधारण हुन् ।

अस्पताल आएका केही संक्रमितहरूमा ज्वरो, खोकी जस्ता साधारण लक्षण देखिएको भएपनि अधिकांश संक्रमितमा भने कुनै लक्षण नदेखिएको इन्चार्ज शाक्यले बताइन् ।

मेडिकल अफिसर, कन्सलटेन्ट र अस्पताल स्टाफको निगरानीमा औषधी र परामर्शसहित कोरोना संक्रमितको उपचार गरिरहेको विराट शिक्षण अस्पतालले पीसीआर मेशिन जडान गरि सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

मेशिन खरिद गरेर अस्पताल आइसकेको भएपनि त्यसको अन्य व्यवस्थापन भइनसकेकाले तत्काल सञ्चालनमा ल्याउन नसकिएको बजार एवम् संचार व्यवस्थापक आभाष श्रेष्ठले बताए ।

‘हामी अन्तिम तयारी गरिरहेको छौं,’ उनले भने, ‘केही दिनमा नै पीसीआर परीक्षणको सुविधा अस्पतालले उपलब्ध गराउनेछ ।’

Loading...