सीपीएलमा सन्दीपको व्यक्तिगत कीर्तिमान

एजेन्सी, १६ भदौ । नेपाली राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा व्यक्तिगत कीर्तिमान बनाएका छन् ।

लगातार तेस्रो पटक प्रतियोगिता खेलिरहेका सन्दीपले प्रतियोगितामा अघिल्ला सिजनभन्दा धेरै विकेट लिन सफल भएका हुन् ।

ट्रीनिडाड एन्ड टोबेगोमा जारी प्रतियोगितामा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले पछिल्लो दुई संस्करणमा भन्दा यस सिजन सर्वाधिक धेरै विकेट लिन सफल छन् ।

जारी प्रतियोगितामा सन्दीपले ६ खेल खेल्दै ९ विकेट हात पारेका छन् । जुन अघिल्लो संस्करणको भन्दा धेरै हो ।

सन्दीपले सन् २०१८ मा पहिलो पटक सीपीएल खेलेका थिए । सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट पहिलो सिजन खेलेका सन्दीपले ५ खेलमा ७ विकेट हात पारेका थिए ।

उनी सीपीएलमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा अहिले सातौं स्थानमा रहेकाका छन् ।

सन्दीपले सेन्ट लुसिया विरुद्धको पहिलो खेलमा एक विकेट लिएको थियो । उक्त खेलमा उनले चार ओभरमा २३ रन खर्चिएका थिए ।

यस्तै दोस्रो खेलमा सन्दीपले एक विकेट लिएका थिए । उनले ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा ४ ओभरमा ३० रन दिए ।

गुयाना अमेजन वारियर्सविरुद्धको तेस्रो खेलमा सन्दीपले दुई विकेट लिए । उनले सो खेलमा चार ओभरमा ८ रन मात्र खर्चिए । उक्त खेलमा उनले हालसम्मकै उत्कृष्ट खेल देखाएका थिए ।

यसैगरी आफ्नो चौथो खेलमा सन्दीपले एक विकेट लिए । गुएना अमेजन वारियर्स विरुद्धको खेलमा उहाँले चार ओभरमा मात्र १२ रन खर्चिए ।

पाँचौ खेलमा उनले दुई विकेट लिए । बर्बाडोस ट्राइडेन्ससितको खेलमा उनले ४ ओभरमा १६ रन दिए ।

यसैगरी सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सविरुद्धको छैटौँ खेलमा सन्दीपले दुई विकेट लिए । उक्त खेलमा उनले चार ओभरमा २९ रन विपक्षी टोलीलाई दिए ।

जमैकाले खेलेका हालसम्मका ६ वटै खेलमा सन्दीपले आफ्नो स्थान सुरक्षित राखेका छन् । उनले सबै खेलमा किफायती बलिङ गर्दै आएका छन् ।

विपक्षी टोलीका खेलाडीले उनको बलमा खासै रन बनाउन सकेका छैनन् ।

सन्दीपको टोली जमैका तल्लावाजले आज सातौं खेल खेल्दै छ । नेपाली समयानुुसार आज साँझ ७ः४५ बजेबाट सुरु हुने उक्त खेलमा जमैकाले ट्रिनबागो नाइट राइडर्ससँग खेल्नेछ ।

यो खेल ट्रिनिडाडस्थित ब्रियन लारा स्टेडियमा हुनेछ । जहाँ, जमैका चौथो जितको खोजीमा हुनेछ ।

पछिल्ला ६ खेलमध्ये जमैकाले तीन खेलमा जित र तीन खेलमा हार व्यहोरेको छ । ऊ ६ अंकका साथ लिगको चौथो स्थानमा रहेको छ ।

यता, ट्रिनबागो भने लिगमा अपराजित टोली हो । ६ वटै खेलमा जित निकालेको ऊ लिगको शीर्ष स्थानमा छ ।

यस सिजनको सीपीएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।

Loading...