Rumpum

Rumpum Advertisement

आईसीसीले पठायो नेपाली क्रिकेटरको एक वर्षको तलब

आईसीसीले पठायो नेपाली क्रिकेटरको एक वर्षको तलब

काठमाडौं, १६ भदौ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले राष्ट्रिय क्रिकेट खेलाडी, नेपाल क्रिकेट संघ (क्यान)का कर्मचारी र कीर्तिपुर मैदानमा काम गर्ने कर्मचारीहरूको एक वर्षको तलब पठाएको छ ।

करिब चार वर्षदेखि नपाएका खेलाडी तथा कर्मचारीलाई आईसीसीले एक वर्षको तलब पठाएको क्यानले जानकारी दिएको छ । आईसीसीले खेलाडीको एक वर्षको तलब पठाएको भन्ने जानकारी क्यानलाई गरेको छ ।

यस्तै ग्राउण्ड स्टाफको पछिल्लो पाँच महिनाको तलब पनि आईसीसीले रिलिज गरेको बताइएको छ । सन् २०१९ मा आइसीसीको सम्झौतामा रहेका २२ जना खेलाडीको तलब क्यानको खातामा पठाएको छ ।

आईसीसीको निर्देशन अनुसार एक साता अगाडि क्यानले आईसीसीको सूचिमा रहेका खेलाडीको हस्ताक्षर गरेर पठाएको थियो । यसका साथै कर्मचारी र ग्राउण्ड स्टाफको तलब पनि माग गरेको थियो ।

क्यान अस्तित्वमा आएपछि खेलाडीको तलब १० हजार बढाएर पठाउन भनिएको थियो । जसलाई आईसीसीले स्वीकार गरेको थियो ।

२०१९ मा तीन श्रेणीमा रहेका खेलाडीमध्ये ‘ए’ श्रेणीमा रहेकाले ३५ हजार, ‘बी’ श्रेणीकाले २५ हजार र ‘सी’ श्रेणीमा रहेका खेलाडीले १५ हजार पाउने थिए ।

तर, अब खेलाडीहरूले बढेर तलब पाउने भएका छन् । जसमा ‘ए’ श्रेणीमा रहेकाले ४५ हजार, ‘बी’ मा रहेकाले ३५ हजार र ‘सी’ श्रेणीमा रहेकाले २५ हजार रुपैयाँ पाउने भएका छन् ।

ए श्रेणीमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषवाकर, बसन्त रेग्मी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी, बी श्रेणीमा करण केसी, शक्ति गौचन, आरिफ शेख, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र ललितसिंह भण्डारी तथा सी श्रेणीमा दिलीप नाथ, सुवास खकुरेल, सुनील धमला, सुशन भारी, किशोर महतो, विनोद भण्डारी र सागर पुन छन् ।

भिडियो एनालिस्टका रुपमा रमन शिवाकोटीको नाम आईसीसीलाई पठाइएको थियो । यसपटक राजु रिजालको नाम थप गरिएको क्यानले जनाएको छ ।