Rumpum

Rumpum Advertisement

बारीमै कुहिन लागे नास्पाती

बारीमै कुहिन लागे नास्पाती

काठमाडौ, १६ भदौ । कोरोना भाइरस (कोभिड–१९) ले विश्वभरि नै ठूलो जनधनको क्षति गरेको छ । गत वर्षको डिसेम्बरमा चीनको उहानबाट उत्पत्ति भएको कोभिड–१९ बाट विश्वभरि करोडौँ जनता प्रभावित भएका छन् । नेपालमा पनि कोरोनाले नराम्ररी प्रभावित गरेको छ । हजारौँको संख्यामा संक्रमित छ भने, दुई सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

यति मात्रै होइन उद्योग–धन्दा व्यापार–व्यवसाय पनि ठप्प प्रायः छन् । किसानले आफ्नो बारीमा फलाएका तरकारी र फलफूल बजार अभावमा कुहिएर जाने अवस्थामा रहेको छ ।

निषेधाज्ञाका कारण बिक्री नभएर भक्तपुरको सूर्यविनायक नगरपालिकामा दूध सडकमा फ्याँकिएको भदौ १३ गते मात्रै हो । संघ, प्रदेश र स्थानीय सरकारलगायत सम्पूर्ण सरोकारवालाको ध्यान कोरोना नियन्त्रणतर्फ केन्द्रित हुँदा किसानका उत्पादन सडकमा फलिने, बारीमा कुहिएर जाने घटना घट्नु नौलो कुरा होइन ।

सम्पूर्ण राज्यशक्ति कोरोना केन्द्रीत हुँदा आफ्नै बारीको उत्पादन बजारसम्म पु¥याउन नपाउँदा किसानहरु पीडित त बनेका छन् नै जीविकोपार्जनका आधार नै खोसिएको महसुस पनि गर्न थालेका छन् ।

संघीय राजधानी काठमाडौंको दक्षिण क्षेत्रमा रहेको दक्षिणकालीका किसानको बारीमा फलेको नास्पाती बारीमै कुहिने अवस्थामा पुगेको छ । नास्पाती फल्ने मुख्य सिजन, नास्पाती बिक्रीबाट आएको पैसाले घरखर्च धान्दै आएका त्यहाँका अधिकांश किसानलाई कोरोनाको भन्दा कोरोनाका कारण आफ्नो उत्पादन बारीमै कुहिने चिन्ताले पिरोलेको छ । विगतमा स्थानीय ठेकेदारहरुले बारीमै पुगेर नास्पाती किन्ने गरेकोमा यो वर्ष कोरोना र कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन (निषेधाज्ञा) का कारण आएका छैनन् ।

दक्षिणकाली नगरपालिका–८ छइमलेका तेजबहादुर लामा नास्पातीको बजार व्यवस्थापन कसरी गर्ने भन्दा बारीमै कुहिएर खेर जाने पो हो कि भन्ने चिन्तामा छन् । गत वर्ष ९० हजार बराबरको २ सय बोरा नास्पाती बिक्री गरेका उनको खेतबारीमा ३४ बोट नास्पाती छन् । यो वर्ष पनि २ सय बोराभन्दा बढी फले पनि बिक्री नै नहुँदा घरखर्च कसरी धान्ने लामालाई समस्या परेको छ ।

विगत वर्षहरुमा प्रतिव्यक्ति कम्तिमा ७० हजारदेखि १ लाखसम्मको नास्पाती बिक्री गर्दै आएका त्यहाँका किसानहरु यो वर्ष सिजन सकिँदै लाग्दा पनि बजार व्यवस्थापनमा समस्या हुँदा समस्यामा परेका हुन् । जीविका चलाउने आधार नै नास्पाती भए पनि बिक्री नहुँदा सरकारले व्यवस्थापन गरिदिए हुन्थ्यो नि भन्छन् अर्का किसान पूर्णबहादुर तामाङ ।

विश्वव्यामी महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि सरकारले पूर्वाधार निर्माण, उपचार र स्वास्थ्य संस्थाहरुको व्यवस्थापन गरिरहेको छ, यो सकारात्मक पक्ष नै हो । तर महामारी नियन्त्रणका क्रममा हुने निषेधाज्ञा तथा लकडाउनका कारण किसानको उत्पादनले उचित बजार नपाउँदा कुहिने अवस्थामा रहेका फलफूल, तरकारीलगायतका स्थानीय उत्पादनको व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने देखिएको छ ।