कोरोना संक्रमणमुक्त भएकालाई टोलमा स्वागत

कोरोना संक्रमणमुक्त भएकालाई टोलमा स्वागत

विराटनगर, १६ भदौ । कोरोना संक्रमणमुक्त भएकाहरुलाई समाजमा तिरस्कृत भएको नयाँ विषय होइन । तर पछिल्लो समय विराटनगरमा संक्रमणमुक्त भएकाहरुलाई स्वागत गर्न थालिएको छ ।

आफन्त, छरछिमेकी र जान्ने–बुझ्नेबाटै संक्रमितहरु प्रताडित भइरहेको अवस्थामा विराटनगरका संक्रमितलाई टोलमा स्वागत गरिएको हो ।

विराटनगरमा कोरोनामुक्त भएको एउटा परिवारका सदस्यलाई टोलका बासिन्दाले मंगलबार स्वागत र सम्मान गरे । संक्रमित र संक्रमणमुक्त भएकाहरुलाई दुर्व्यवहार र हेलाहिंसा भइरहँदा विराटनगर महानगरपालिका–१२ का किशोर धमलाको परिवारलाई स्थानीयवासीले स्वागत गरेका हुन् ।

नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ का अध्यक्षसमेत रहेका धमलालाई साउन २८ गते बुधबार कोरोना पुष्टि भएको थियो । कुनै लक्षण नदेखिए पनि पीसीआर परीक्षण गराएका उनी संक्रमण देखिएपछि मारवाडी सेवा सदनको ‘आइसोलेसन’मा भर्ना भए । त्यसपछि परिवारका सबैजनामा संक्रमण देखियो ।

उनको ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका श्रीमती, छोरी र छोराको रिपोर्ट पनि भदौ १ गते पोजेटिभ आएको थियो । लक्षण नदेखिएपछि तीनजना ‘होम आइसोलेसन’मै रहे ।

पछिल्लो रिपोर्ट नेगेटिभ आएसँगै धमलासहित श्रीमती र छोरी उपचारपछि मंगलबार कोरोनामुक्त भएका छन् । कोरोना पराजित गर्दै सामान्य जीवनमा फर्किएका धमला परिवारले भव्य स्वागत पाएको हो ।

स्वागतमा उपस्थित भएकाहरुले कोरोना जित्न सफल भएर सामान्य जीवनमा फर्किएकोमा बधाई पनि दिए ।

‘२० दिनको ‘आइसोलेसन’ बसाइपछि सामान्य जीवनमा प्रवेश गर्दै घर फर्किन पाउँदा हर्षित भएँ,’ धमालले भने, ‘संक्रमणमुक्त भएकालाई पनि समाजले राम्रो दृष्टिले हेर्दैनन् भन्ने सुनिरहेका बेला सबैको सहयोग र सम्मान पाउँदा खुसीको सीमै रहेन ।’

‘संक्रमण देखिँदा सुरुमा मन बेचैन भए पनि त्यस्तो हैन रहेछ,’ श्रमिक नेता धमालले भने, ‘संक्रमण जोसुकैमा हुन सक्ने भएकाले आफन्त, छरछिमेकी र समाजले सकारात्मक व्यवहार देखाइदिए मात्रै पनि कोरोना सहजै पचाउन सकिँदो रहेछ भन्ने लाग्यो ।’

धमला परिवारका लागि राखिएको सम्मान कार्यक्रमको अगुवाइ गरेकामध्ये जगदिश तिम्सिनाले कोरोना मुक्त भएकामाथि हुने गरेका अनेक दुर्व्यवहार बन्द गर्नु पर्ने बताए ।

उनले विभिन्नखाले गतल व्यवहारको अन्त्य गर्न सबैमा सकारात्मक सन्देश प्रवाह भएर हौसल मिलोस् तथा दुर्व्यवहारको अन्त्य होस् भनेर संक्रमणमुक्त भएकालाई स्वागत गरिएको जानकारी दिए ।