कोरोना संक्रमितको शव व्यवस्थापनमा विराटनगरका युवा

घर छाडेर सामाजिक काममा

शिवहाङ राई

विराटनगर, १६ भदौ । विराट शिक्षण अस्पतालमा गत मंगलबार राति विराटनगर–१५ की ४४ वर्षीय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । अस्पतालको सघन कक्षमा उपचाररत महिलामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले शव व्यवस्थापनका लागि सहयोग गर्न आग्रह गर्यो ।

कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने जिम्मेवारी नेपाली सेनाको हो । तर सेनाले तत्काल शव व्यवस्थापनका लागि अस्पताल आउन नसक्ने बतायो । सधैं भिडभाड हुने अस्पतालमा अन्य बिरामी पनि थिए । शव व्यवस्थापनमा अलमल भइरहेका बेला तीन युवक पुगे । पीपीई, पञ्जा, फेश शिल्ड, मास्क लगाएर कालो प्लास्टिक र डिसइन्फेक्ट गर्ने केमिकलसहितको पम्प बोकेर पुगेका युवाहरु थिए विराटनगरका राम नेपाल, सुयोग चापागाई र रविन कार्की ।

अस्पताल पुगेका युवा टोलीलाई अस्पताल प्रशासनले निकैबेर रोक्यो र सोधपुछ गर्यो । प्रदेश सांसद बिन्दिया कार्कीको पहलमा नेपाली सेनासँग समन्वय गरी संक्रमितको लास व्यवस्थापनका लागि पुगेको जानकारी गराएपछि बल्ल संक्रमितको शव भएको स्थानमा लगियो ।

डिसइन्फेक्ट र स्यानिटाइज गर्न स्प्रे गर्दै अस्पतालभित्र छिरेको टोलीले मृतक महिलाको लाशलाई पहिले डिसइन्फेक्ट गर्यो, बोकेर ल्याएको कालो प्लास्टिकमा बेर्यो, फेरि डिसइन्फेक्ट गर्यो र अस्पताल परिसरभित्रै बनाइएको लाश राखिने सुरक्षित स्थानमा लगेर राखियो ।

भोलिपल्ट नेपाली सेनाको सूर्य दल गणका शव व्यवस्थापन टोली विराट शिक्षण अस्पताल आइपुग्यो । अघिल्लो दिन तीनजना मात्रै अस्पताल आएको युवा टोली पनि छजनाको समूह हुँदै अस्पतालमा उपस्थित भयो । टोलीमा थपिएका युवा थिए दृश्यमान शाक्य, अनुराग भण्डारी र संयोग चापागाई ।

सेनासँगै युवा टोलीले पनि शवलाई अस्पतालबाट विराटनगरस्थित परमविश्रान्ती आर्यघाटसम्म पु¥याएर अन्त्येष्टि गरे । कोरोना संक्रमितको शव जलाएर अन्त्येष्टि गरेको प्रदेश १ मा यो पहिलो घटना थियो । समाज त्रसित भइरहेको अवस्थामा शव व्यवस्थापन गर्न आँट गर्ने युवा ‘कोभिड १९ डिसइन्फेक्सन स्यानिटाइजेसन टिम विराटनगर’ का सदस्यहरु हुन् ।

कसरी बन्यो ‘टिम विराटनगर’ ?

लकडाउनमा म्यासेन्जरमा छलफलपछि दशजना युवाले बनाएको समूहको नाम हो ‘कोभिड १९ डिसइन्फेक्सन स्यानिटाइजेसन टिम विराटनगर’ । विराटनगर महानगरपालिका–१ र २ का तीन–तीन जना र वडा नं ५ का चार युवा यो समूहमा छन् । कोरोना संक्रमितलाई अमानवीय व्यवहार गर्दै आएको समाजमा एकजुट भएका युवा संक्रमितको शव व्यवस्थापन, डिसइन्फेक्सन र स्यानिटाइजेसन कार्यमा खटिरहेका छन् ।

विषम परिस्थितिमा नागरिकलाई सचेत, सुरक्षित र सजग बनाउन दिनरात नभनी निरन्तर सेवामा खटिरहेका सुरक्षाकर्मीलाई खाजा खुवाउने अभियानमा पनि यो टोली लागिपरेको छ । मास्क खरिद गर्न नसक्ने र महानगर क्षेत्रमा मास्क नलगाई हिँड्ने मानिसलाई मास्क वितरण गर्ने काम पनि गरिरहेको छ ।

कोरोना संक्रमणका कारण ज्यान गुमाउने मानिसको शव व्यवस्थापन गर्न जुनसुकै बेला यो टोली तयारी अवस्थामा छ । संक्रमण रोकथाम गर्न आ–आफ्नो घर वरपर स्यानिटाइजेसन गर्ने योजनासहित सुरु भएको यो समूहले तीन सय पचास घर, स्थानीय तहका कार्यालय र ६० कोरोना संक्रमितको घर डिसइन्फेक्सन र स्यानिटाइजेसन गरिसकेको छ ।

कसरी काम हुन्छ ?

समूहमा दशजना मात्रै भए पनि सदस्यलाई विभिन्न जिम्मेवारीसहित उप–समूहमा बाँडिएको छ । डिसइन्फेक्सन र स्यानिटाइजेसन गर्ने समूह एउटा छ भने सुरक्षाकर्मीलाई खाजा खुवाउने टोली र मास्क वितरण गर्ने समूह बेग्लै बनाइएको छ ।

गत मंगलबार कोरोना संक्रमितको शव व्यवस्थापन गरेकाले समूहका राम नेपाल, सुयोग चापागाई, रविन कार्की, दृश्यमान शाक्य, अनुराग भण्डारी र संयोग चापागाई सम्मेलित छजनाको टोली यतिबेला आइसोलेसनमा बसिरहेका छन् ।

विराटनगरस्थित अतिथि सदनमा रहेको आइसोलेसन केन्द्रमा बसिरहेका उनीहरु दोस्रो चरणको पीसीआर परीक्षणको नतिजाको पखाईमा छन् । पहिलो चरणको पीसीआर परीक्षणमा सबै जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ । रिपोर्टको नतिजा नेगेटिभ आउनेबित्तिकै फेरि टोली काममा फर्कने उनीहरु बताउँछन् ।

सञ्जोग गौतम, आर्यन बास्तोला, विधान अधिकारी र आर्यन न्यौपानेको समूह भने यतिबेला सुरक्षाकर्मीलाई खाजा वितरण गर्ने र मास्क वितरण गर्ने कार्यमा व्यस्त छन् ।

‘समूहका अन्य सदस्य आइसोलेसनमा बसिरहनुभएकाले डिसइन्फेक्सन र स्यानिटाइजेसन गर्ने कार्य यतिबेला रोकिएको छ,’ समूहको व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका सञ्जोग गौतम भन्छन्, ‘वहाँहरु आउनासाथ समूहको कामले पुनः निरन्तरता पाउनेछ ।’

‘सहयोग भए हामी अझै राम्रो काम गर्न सक्छौं’

फेसबुक च्याटबाट सुरु भएको अभियान एक महिना पुग्न लाग्दा सरकारी संयन्त्रले समन्वय र सहयोग गरेको छैन । ‘हाम्रो बारेमा थाहा नभएर पनि हुन सक्छ सरकारी संयन्त्रबाट खासै सहयोग भएको छैन ।’ समूह सदस्य सञ्जोग गौतम भन्छन्, ‘बरु व्यक्तिगत र निजी क्षेत्रबाट भने सहयोग भइरहेको छ ।’

सुरुवाती दिनमा डिसइन्फेक्ट र स्यानिटाइज गर्दा पीपीईबिना नै गरेको अनुभव टोलीसँग छ । काम गर्दै जाँदा अभियानको बारेमा थाहा पाउन थालेपछि भने सहयोग आउन थालेको उनीहरु बताउँछन् ।

‘सहयोग खासै भएको छैन । औंलामै गन्न सकिने थोरै मानिस हुनुहुन्छ, जसले हामीलाई काम गर्न प्रेरणा दिइरहनु भएको छ, स्रोत जुटाइदिइरहनु भएको छ,’ टोलीको व्यवस्थापानको जिम्मेवारी लिएका सञ्जोग गौतम भन्छन्, ‘समाजका लागि काम गर्दा सम्बन्धित संयन्त्रले ध्यान नदिँदा भने चित्त दुख्दोरहेछ । राज्यबाट सहयोग भए हामी अझै उत्कृष्ट काम गर्न सक्छौं ।’

विभिन्न स्रोतमार्फत् आफ्नो सेवा प्रवाह गरिरहेको समूहसँग यतिबेला २५ थान पीपीई, त्यससँगै प्रयोग हुने फेश शिल्ड, पञ्जा र मास्क छ । त्योबाहेक एक सय घरलाई डिसइन्फेक्ट र स्यानिटाइज गर्ने केमिकल बाँकी छ । राज्य संयन्त्रले आवश्यक सामग्री सहयोग गरे महामारी अन्त्य नभएसम्म निःशुल्क काम गर्न युवा समूह तयार छ ।

‘संक्रमण रोकथाम गर्ने उपायहरु अपनाइदिनुस् ’

२६ वर्षीय राम नेपाल समूहका सबैभन्दा पाको युवा हुन् । पेशाले व्यवसायीसमेत रहेका नेपाल विराटनगर कोरोनाको हटस्पट बनिरहेको बेला कोरोना सम्बन्धित काम गर्न एकदमै जोखिम रहेको बताउँछन् ।

‘डर सबैमा हुन्छ । हामीलाई पनि डर छ तर फेरि यस्तो संकटको बेलामा युवा अघि नसरे कसले गर्छ ?’ नेपाल भन्छन्, ‘जोखिम मोलेर नै भए पनि हामी काम गर्न तयार छौं ।’ २० महिने काखे छोरी, श्रीमती र परिवारलाई छोडेर समाजमा काम गर्न हिँडेको उनलाई परिवारको साथ र सहयोग छ ।
टोलीका सबैभन्दा कान्छा सदस्य दृश्यमान शाक्य हुन् । नेपालमा कोभिड त्रास नहुन्थ्यो त यतिबेला उनी एसईईको तयारी गर्दै हुन्थे । १६ वर्षीय शाक्य अन्य युवासँगै पहिलो दिनबाट नै खटिरहेका छन् ।

‘घरबाट फुल सपोर्ट छ । बाबामामुले नि सुरक्षित भएर गर्न भन्नुभयो,’ एक महिनाअघिको क्षण सम्झँदै शाक्य भन्छन्, ‘त्यसपछि दाइहरुसँगै डिसइन्फेक्ट, स्यानिटाइज गर्न थालियो । कोरोना संक्रमितको शव व्यवस्थापन गर्न पनि खटियो ।’

टोली अन्य सदस्य १८ देखि २४ वर्षसम्मका छन् । युवा समूहको सबै सदस्यको औसत उमेर हिसाब गर्ने हो भने २१ वर्ष हुन आउँछ । सबै सदस्य अध्ययनरत छन् । कोरोनाले शैक्षिक क्षेत्रमा पु¥याएको असरप्रति उनीहरु सबै जानकार छन् । कोरोना महामारी नियन्त्रण नभइन्जेल शैक्षिक क्षेत्रको स्थितिमा पनि सुधार नआउने भएकाले अहिलेको अवस्थामा सबैले मिलेर कोरोनालाई जित्न पर्ने उनीहरु बताउँछन् ।

संसार नै विषम परिस्थितिबाट गुज्रिरहेकाले सबैले सतर्कता अपनाउनु पर्ने समूहका सदस्य रविन कार्की बताउँछन् । उनी भन्छन्, ‘यस्तो बेला केही गर्न सक्नुहुन्नँ भने पनि कम्तिमा कोरोनाबाट बच्न र संक्रमण रोकथाम गर्ने उपायहरु अपनाइदिनुस् ।’

राज्य, स्थानीय प्रशासन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी सबैले आ–आफ्नो भूमिका निर्वाह गरिरहेको बेला नागरिकले पनि यसमा हातमालो गर्दै अघि बढ्न पर्ने उनी बताउँछन् ।

Loading...