बेलको मुहारमा मुस्कान फर्कियो

एजेन्सी, १६ भदौ । रियल मड्रिडका स्ट्राइकर ग्यारेथ बेल राष्ट्रिय टोलीमा फर्किएका छन् । यूईएफए नेशन्स लिग खेल्नका लागि ३१ वर्षीय बेल वेल्सको टोलीमा फर्किएका हुन् ।

एक साताअघि यूईएफए नेशन्स लिगका लागि वेल्सले २६ सदस्यीय टोलीको घोषणा गरेको छ । वेल्सको फुटबल टोलीका मुख्य प्रशिक्षक रायन गिग्सले सो टिममा बेललाई पनि समावेश गरे ।

लिग ‘बी’ मा रहेको वेल्सले नेशन्स लिगको पहिलो खेलमा ३ सेप्टेम्बरमा फिनल्याण्डसँग खेल्दैछ भने त्यसको तीन दिनपछि बुल्गेरियासँग घरेलु मैदानमा खेल्नेछ ।

नेशन्स लिगको तयारीका लागि प्रशिक्षणरत बेलको मुहारमा मुस्कान फर्किएको छ । रियलमा मौका पाउन संघर्षरत उनले राष्ट्रिय ड्युटी गर्ने अवसर पाएका छन् । गिग्सले प्राथमिकतामा राखेपछि बेल खुशी भएका हुन् ।

सन् २०१३ यता रियलबाट खेलिरहेका उनले प्रशिक्षक जिनेदिन जिदानसँगको सम्बन्धका कारण खेल्ने मौका नपाएको बताइन्छ ।

२०१९–२० को सिजनमा बेलले रियलबाट मात्र २० खेलमा सहभागिता जनाए । जसमा उनले ३ गोल र २ असिस्ट गरे ।

Loading...