पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुरलाई कोरोना संक्रमण पुष्टि

विराटनगर, १६ भदौ । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेताका जीतबहादुर केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गत आइतबार गरिएको पीसीआर परीक्षणमा ओलम्पियन केसीको रिपोर्ट पोजिटिभ आएको हो ।

पेटमा समस्या देखिएपछि अस्पताल लगिएका उनको उपचारअघि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।

पेट दुख्ने र दिसामा रगत देखिएपछि केसीलाई उपचारका लागि वयोधा हस्पिटल लगिएको थियो ।

७२ वर्षीय केसीले सन् १९७३ मा फिलिपिन्समा भएको एशियन एथ्लेटिक्स च्याम्पियनसिपमा कांस्य पदक जित्दै नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका थिए ।

त्यसअघि नै उनले सन् १९७२ मा ओलम्पिकमा पनि सहभागिता जनाएका थिए ।

Loading...