मेस्सी किन्न चन्दा संकलन गर्दै जर्मन क्लब स्टटगार्टका समर्थक

एजेन्सी, १६ भदौ । जर्मन क्लब भीएफबी स्टटगार्टका समर्थकले बार्सिलोना छोड्ने निर्णय लिएका स्टार खेलाडी लियोनल मेस्सी किन्नका लागि चन्दा संकलन अभियान गरेका छन् । जर्मन बुन्डेसलिगा क्लब स्टटगार्टका समर्थकहरू अर्जेन्टिनी स्टार मेस्सी भित्र्याउनका लागि सामूहिक रूपमा चन्दा संकलन अभियानमा जुटेका हुन् ।

३३ वर्षीय मेस्सीले एक साताअघि क्लब छोड्ने जानकारी बार्सिलोनालाई गराएका थिए । मेस्सीले बार्सिलोनाबाट निरन्तरता नदिने भन्दै यसै समरमा क्लब छोड्ने वातावरण मिलाइदिन बोर्डसँग प्रस्ताव राखेका थिए ।

तथापि, बार्सिलोनाले भने उनको प्रस्ताव अस्वीकार गरेको जनाइएको छ । तर, प्रि–सिजनको तयारीमा रहेको बार्सिलोनाको प्रशिक्षणमा पनि अनुपस्थित भएपछि मेस्सीले क्लब छोड्ने सम्भावना बढेको देखिएको छ ।

मेस्सी र बार्सिलोनाबीचको सम्झौता आगामी सिजनमा मात्र सकिन्छ । बार्सिलोना सोहीअनुसार मेस्सीलाई अन्य क्लबले किन्न ७०० मिलियन युरो तिर्नुपर्ने शर्त रहेको मान्छ । मेस्सीको ७०० मिलियन युरोको रिलिज क्लज कायम रहेकाले अहिले पनि ७०० मिलियन युरोबिना उनले क्लब छाडेर जान नपाउने ला लिगाले समेत जनाएको छ ।

मेस्सीले फ्री ट्रान्सफर र बार्सिलोनाको अनुमतिबिना बार्सिलोना छोड्ने नपाउने भएका छन् । तर, ७ सय मिलियन युरो रिलिज क्लज तिर्न सफल भएमा मेस्सीले बार्सिलोनाको सहमतिबिना पनि क्लब छोड्न पाउने छन् ।

उनलाई अनुबन्ध गर्नका लागि इंग्लिस क्लब म्यानचेस्टर सिटी अग्रपंक्तिमा देखिएको छ । त्यसबाहेक उनलाई भित्र्याउने क्षमता भएका केही क्लब उनलाई अनुबन्ध गर्ने दौडमा छन् ।
यस्तैमा स्टटगार्टका समर्थकहरूले मेस्सीलाई भित्र्याउन ‘गोफन्ड मी’मार्फत चन्दा संकलन अभियानमा जुटेका हुन् । उनीहरूले ९०० मिलियन युरो संकलन गर्ने लक्ष्य राखेका छन् ।

‘गोफन्ड मी’पेजमा उल्लेख गरिएको विज्ञप्तिअनुसार चन्दा संकलन अभियानमा तोकिएको रकम संकलन हुनुअघि मेस्सी अन्य क्लबमा आवद्ध भएमा सो संकलित रकम भिभा कोन एगुवा नामक संस्थामा दान गर्ने छन् ।

भिभा कोन एगुवा विश्वभरिका मानिसलाई शुद्ध पानी वितरण गर्ने एक गैर नाफामूलक संस्था हो ।

Loading...