सात लाख मूल्यको औषधि बरामद

सात लाख मूल्यको औषधि बरामद

झापा, १६ भदौ । झापाको शिवसताक्षी नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गबाट प्रहरीले करिब सात लाख मूल्य बराबरको अवैध औषधि बरामद गरेको छ ।

भन्सार छलेर ल्याउँदै गरिएको अवस्थामा प्रहरीले उक्त मूल्य बराबरको ओरियन्स कम्पनीको ३०७ बट्टा औषधि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

उनका अनुसार सोमबार दिउँसो दुईवटा मोटरसाइकल र एउटा स्कुटरमा सवार गरी आएका छजना मानिसलाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा सो मूल्य बराबरको औषधि बरामद गरेको हो ।

बरामद गरिएको औषधि, मानिस तथा सवारीसाधन आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालयमा बुझाएको उनले बताए । यसअघि प्रहरीले अवैधरुपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा मेचीनगरबाट करिब २० लाख बराबरको ओरियन्स कम्पनीकै विभिन्न नामका औषधिसमेत बरामद गरेको थियो ।