यसरी बरामद भयो विराटनगरबाट ठूलो परिणामको गाँजा

विराटनगर, १६ भदौ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि मोरङमा निषेधाज्ञा जारी छ ।

निषेधाज्ञाकै बीचमा सशस्त्र प्रहरीलाई ठूलो परिणामको गाँजा लोड गरिएको एउटा ट्याक्टर सुनसरीको धरान, इटहरी र दुहवी हुँदै विराटनगर भित्रिएको सूचना सोमबार बिहान आयो । १० बजेतिर सूचना आएपछि सशस्त्र प्रहरी बलको रानी विराटनगरस्थित बोर्ड आउट पोस्ट (बीओपी) बाट सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेलले नियन्त्रणमा लिन तीन जनाको टोली खटाए ।

टोलीमा थिए हवल्दार भीम अधिकारी, सहायक हवल्दार फणिन्द्र कोइराला र पूर्णकुमार लिम्बू । तीन जना बिहानैदेखि गाँजा लोड गरिएको ट्याक्टरको खोजीमा जुटे । दिनभरको मेहनतपछि सुरक्षाकर्मीलाई छल्दै भारततर्फ लैजाँदै गर्दा ट्याक्टरको पिछा गरेर उनीहरुले साँझ ७ः३० बजे एक सय ४६ किलो गाँजासहित ट्याक्टर र चालकलाई नियन्त्रणमा लिन सफल भए ।

को २ त ६०५७ नम्बरको ट्याक्टर र चालक सुनसरीको गढी गाउँपालिका–३ का ३४ वर्षीय सुरेशकुमार मेहतालाई सशस्त्रले नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा बरामद भएको हो । पक्राउ परेका बेला ट्याक्टरमा चालक मेहताबाहेक अरु कोही भेटिएनन् । दिनभर विराटनगरमा लुकाएर राख्दै साँझ परेपछि ट्याक्टर भारत कटाउन खोजिएको सशस्त्रको भनाइ छ ।

ट्याक्टर, चालक र ठूलो परिणामको गाँजा विराटनगर महानगरपालिका–१७ आईसीपी (एकीकृत भन्सार जाँच चौकी) जाने सडकबाट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले बताए । प्लाष्टिकमा प्याक गर्दै ट्याक्टरको पछाडिको ट्रलीमा ‘फल्स बटन’ बनाएर त्यहाँभित्र लुकाएको अवस्थामा गाँजा बरामद भएको उनको भनाइ छ ।

योसँगै कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाकै समयमा गाँजा भारततर्फ तस्करी हुने गरेको पुष्टि भएको छ । एसपी पौडेलले गाँजाको अवैध ओसारपसार नियन्त्रण गर्न नेपाल–भारत सीमा क्षेत्रमा विशेष टोली परिचालन गरेर निगरानी बढाउँदै कडाई थालिएको जानकारी दिए ।

पक्राउ परेका चालक मेहताले भने आफूले विराटनगरको शनिमन्दिरबाट ट्याक्टर ‘रिसिभ’ गरेको बताएका छन् । आफूलाई गाँजा र ट्याक्टरका बारेमा केही पनि जानकारी नभएको उनले प्रहरीलाई बताएका छन् ।

‘ट्याक्टर विराटनगर–१८ भेडियारी पु¥याए वापत १० हजार दिने सर्त थियो,’ चालकको भनाई उद्रित गर्दै सशस्त्र स्रोतले भन्यो, ‘तर ट्याक्टरमा के राखिएको छ भन्ने मलाई थाहा थिएन ।’ मेहताले पैसा दिने सर्त कसले राखेको थियो भन्ने पनि खुलाएका छैनन् । धनकुटामा अवैध रुपमा उत्पादन हुँदै आएको गाँजा निषेधाज्ञाको समयमा सुरक्षाकर्मीलाई छल्दै भारत कटाउन खोजिएको सशस्त्रको भनाइ छ । ु

सशस्त्रले बरामद भएको गाँजा र नियन्त्रणमा लिइएको ट्याक्टरसहित चालकलाई सोमबारराति आवश्यक कारबाही अघि बढाउन इलाका प्रहरी प्रहरी कार्यालय रानीमा बुझाएको छ । चालकविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइने रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए । ‘प्रारम्भिक अनुसन्धानबाट गाँजा लोड गरेको ट्याक्टर विराटनगरसम्म अर्कैले ल्याएको देखिन्छ,’ उनले भने, ‘विराटनगरबाट भने पक्राउ परेका चालकले ट्याक्टर चलाएको खुलेको छ ।’

त्यसअघि चलाएर ट्याक्टरलाई विराटनगरसम्म ल्याउने व्यक्ति र लागुऔषध गाँजाको ओसारपसार एवं कारोबारमा संलग्नहरुको खोजी तीव्र बनाइएको जानकारी थापाले दिए । पक्राउ परेका मेहताले दिएको सूचना र अनुसन्धानबाट खुलेका तथ्यका आधारमा गाँजा कारोबार गर्ने गिरोहसम्म पुग्ने र त्यो गिरोहको सञ्जाल भत्काउने प्रयास थालिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

एक सय ४६ किलोग्राम गाँजासहित पक्राउ परेका ट्याक्टर चालक सुरेशकुमार मेहतालाई सार्वजनिक गर्दै सशस्त्र प्रहरी ।

प्रदेश १ मा सबैभन्दा बढी गाँजा उत्पादन हुने जिल्लाका रुपमा धनकुटा चिनिन्छ । त्यहाँ लगायत अन्य पहाडी जिल्लामा उत्पादन हुने गाँजा सवारी एवं ढुवानीका साधनमा लुकाईछिपाई भारतसम्म पु¥याउने गरिएको प्रहरीबाट यसअघि भएका विभिन्न अनुसन्धानले देखाएको छ । भारतको बिहार लगायतका स्थानमा गाँजाको माग उच्च रहेको छ ।

प्रहरीका अनुसार नेपालमा प्रति किलो गाँजा लगभग १० हजार रुपैयाँ पर्छ । तर त्यही गाँजा भारत पु¥याउँदा २० हजार रुपैयाँभन्दा बढी पर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । नेपालमाभन्दा भारतमा दोब्बर बढी मूल्य पर्ने भएकैले अवैध रुपमा नेपालबाट भारततर्फ गाँजा तस्करी हुने गरेको प्रहरी स्रोतले बतायो ।

Loading...