सीपीएल : सन्दीपको टोली जमैका र ट्रिनबागो प्रतिस्पर्धामा

एजेन्सी, १६ भदौ । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली लेग स्पीनर सन्दीप लामिछाने सम्मेलित टोली जमैका तल्लावाजले आज सातौं खेल खेल्दैछ ।

नेपाली समयानुुसार आज साँझ ७ः४५ बजेबाट सुरु हुने उक्त खेलमा जमैकाले ट्रिनबागो नाइट राइडर्ससँग खेल्नेछ ।

यो खेल ट्रिनिडाडस्थित ब्रियन लारा स्टेडियमा हुनेछ । जहाँ, जमैका चौथो जितको खोजीमा हुनेछ । पछिल्ला ६ खेलमध्ये जमैकाले तीन खेलमा जित र तीन खेलमा हार व्यहोरेको छ । ऊ ६ अंकका साथ लिगको चौथो स्थानमा रहेको छ ।

यता, ट्रिनबागो भने लिगमा अपराजित टोली हो । ६ वटै खेलमा जित निकालेको ऊ १२ अंकसहित लिगको शीर्ष स्थानमा छ ।

यस खेलमा सन्दीपले स्थान बनाउने सम्भावना धेरै छ । सन्दीपले जारी सीपीएलमा ९ विकेट लिइसकेका छन् ।

उनी सीपीएलमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा अहिले सातौं स्थानमा रहेकाका छन् ।

Loading...