सङ्क्रमितले पाउँदै छन् जीवनदान

विराटनगर, १६ भदौ । डा. किशोर बञ्जाडे कपिलवस्तु अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट हुन् । जब हटस्पट बन्ने गरी कपिलवस्तुमा कोरोना सङ्क्रमण फैलियो, उनी बिरामीको सेवामा भिडे ।

सङ्क्रमितको सेवा गरिरहेकै बेला साउन २४ गते उनी अफैँ पनि सङ्क्रमित भए । यो खबर उनको परिवार, स्थानीय समाज र अस्पतालका लागि अप्रत्याशित थियो तर उनी विचलित भएनन् ।

डा. बञ्जाडेको अहिलेको दैनिकी बिरामीको उपचार सँगसँगै आफ्नो अनुभव बाँड्ने, मनोबल बढाउने र सङ्क्रमितको ज्यान जोगाउने नयाँ अभियानमा केन्द्रित छ । उनी पछिल्लो अभियान हो, सङ्क्रमितको प्लाज्मा थेरापी उपचारका लागि सङ्क्रमित भई निको भएकाको रगत सङ्कलन ।

सोमबार कपिलवस्तु अस्पतालमा त्यस्तै गजबको माहौल थियो । डा. बञ्जाडेसहित अस्पतालका १६ जना पूर्वसङ्क्रमित स्वास्थ्यकर्मीले रक्तदान गरे । यस्तो रक्तदान सङ्क्रमितहरूको ज्यान जोगाउने एउटा नयाँ उपचार विधि प्लाज्मा थेरापीका लागि थियो ।

“धेरै मानिस सङ्क्रमणबाट छट्पटिइरहेका बेला जीवन रक्षा गर्नु हाम्रो कर्तव्य हो,” डा. बञ्जाडेले भने , “पूर्वसङ्क्रमितको रगतले कसैको ज्यान बच्छ भने हामी किन अघि नसर्ने ?”

प्रदेश ५ मा प्लाज्मा उपचारको थालनी बुटवलको कोरोना विशेष अस्थायी अस्पतालबाट सुरु भएको हो । अहिले बाँकेको नेपालगञ्जमा पनि त्यस्तो अभ्यास सुरु भएको छ । बुटवलमा भएको पहिलो प्लाज्मा थेरापी उपचारमा डा. राजेन्द्र खनाल, डा. सुदर्शन थापा लगायतका चिकित्सक संलग्न छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. खनालका भनाइमा यस्तो उपचार थेरापीका लागि पूर्वसङ्क्रमितको रगत चाहिन्छ तर त्यस्तो रक्तदान गर्न सबैलाई चेतना भइसकेको छैन । कोरोना अति नयाँ विषय थियो । यसबारे डाक्टर, नर्स लगायतलाई विशेष प्रशिक्षण, तालिम दिन पाइएकै थिएन, प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले भने, “तर पनि उहाँहरूको भूमिका उच्च प्रशंसनीय छ । हामी सन्तुष्ट छौँ । सबैले उहाँहरूको सम्मान गर्दै मनोबल बढाउनुपर्दछ ।”

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार यो प्रदेशमा मात्रै चिकित्सकसहित झन्डै चार सय स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । यो प्रदेशका चार कोरोना विशेष अस्पताल र कोरोना प्रयोगशालामा मात्रै पनि चार सय जना कार्यरत छन् ।
मन्त्रालयका सूचना अधिकारी डा. युवराज पौडेलका अनुसार स्वास्थ्यकर्मीहरूको मनोबल उच्च छ । बरु उनीहरुले सङ्क्रमणको अनुभवसँगै बाँकी सङ्क्रमितको जीवन रक्षामा रक्तदानदेखि अनेक अभियान गरिरहेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...