अरु मुलुकमा संक्रमण घट्दै, भारतमा बढ्दै

विराटनगर, १६ भदौ । विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमण दर घट्दै गइरहेको पाइएको छ ।

तर दैनिक रुपमा भेटिने संक्रमितको संख्या घट्दै जाँदा भारतमा भने संक्रमण दर झन् उच्च हुँदै गइरहेको छ । विश्वमा संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा पछिल्लो २४ घण्टामा ३७ हजार एक सय ४० जना संक्रमित भेटिए ।

अमेरिकामा यसअघि दैनिक ५० हजारमाथि संक्रमित फेला पर्ने गरेका थिए । केही दिनयता ४० हजार मुनी संक्रमित भेटिने गरेका छन् । हालसम्म अमेरिकामा ६२ लाख १० हजार तीन सय ७६ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण दैनिक ज्यान गुमाउनेको संख्या पनि घट्दै गइरहेको छ । अमेरिकामा एकै दिन चार सय ८५ जनाको मृत्यु भयो । यसअघिसम्म दैनिक हजारको हाराहारी वा त्यो भन्दामाथि संक्रमितको मृत्यु हुने गरेको थियो । हालसम्म अमेरिकामा एक लाख ८७ हजार सात सय नौ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

संक्रमितमध्ये ३४ लाख ५२ हजार तीन सय ५७ जना उपचारपछि कोरोना जितेर डिस्चार्ज भएका छन् । ३५ लाख ७० हजार तीन सय १० जना उपचाररत रहेकोमा १५ हजार नौ सय ३६ जनाको अवस्था गम्भीर छ ।

भाइरस संक्रमणबाट प्रभावितमध्ये दोस्रो नम्बरमा रहेको ब्राजिलमा पछिल्लो २४ घण्टामा ४८ हजार पाँच सय ९० जनामा संक्रमण पुष्टि भयो । यसअघि एक दिनमा ५० हजारमाथि संक्रमित भेटिने गरेका थिए । संक्रमित संख्या ३९ लाख १० हजा नौ सय एक पुगेको छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा छ सय १९ जनाको मृत्यु भएको छ । केही दिनयता ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि कम हुँदै गइरहेको छ । हालसम्म एक लाख २१ हजार पाँच सय १५ जना संक्रमितको मृत्यु भइसकेको छ ।

३० लाख ९७ हजार सात सय ३४ जना उपचारपछि घर फर्किएका छन् । छ लाख ९१ हजार छ सय ५२ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

हालसम्म विश्वमा संक्रमणबाट प्रभावित हुनेमध्ये तेस्रो नम्बरमा रहेको भारतमा पछिल्लो २४ घण्टामा मात्रै ६८ हजार सात सय ७० जना नयाँ संक्रमित भेटिएका छन् । भारतमा एकै दिनमा संक्रमित हुनेको संख्या ६० हजारभन्दा तल झर्न सकेको छैन । यही अवस्थामा संक्रमण बढ्दै जाने हो भने भारतमा कोरोना भयावह बन्न सक्ने वाल्डो मिटरको रेकर्डले जनाउँछ ।

विश्वका अरु मुलुकलाई उछिन्दै प्रभावित मुलुकको पहिलो नम्बरमा भारत आउन सक्ने सम्भावना प्रवल रहेको बताइएको छ । हालसम्म भारतमा ३६ लाख ८७ हजार नौ सय ३९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

कोरोनाका कारण ६५ हजार चार सय ३५ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै आठ सय १८ जना नयाँ संक्रमित भेटिए । भारतमा दैनिक मृत्यु हुनेको संख्या सात सयभन्दा तल झर्न सकेको छैन ।

जम्मा संक्रमितमध्ये २८ लाख ३७ हजार तीन सय ७७ जना उपचारपछि कोरोना जितेर फर्किएका छन् । सात लाख ८५ हजार एक सय २७ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

विश्वमा एकै दिन दुई लाख ३५ हजार आठ सय १७ जना कोरोना संक्रमित भेटिए । हालसम्म संक्रमितको संख्या दुई करोड ५६ लाख १९ हजार चार सय पुगेको छ । आठ लाख ५४ हजार दुई सय ११ जना संक्रमितको मृत्यु भइसकेको छ । एकै दिनमा चार हजार आठ जनाले ज्यान गुमाए ।

एक करोड ७९ लाख १८ हजार ७१ जना संक्रमण मुक्त भएका छन् । ६८ लाख ४७ हजार एक सय १८ जना उपचाररत रहेकोमा ६१ हजार एक सय ७१ जनाको अवस्था गम्भीर छ ।

Loading...