Rumpum

Rumpum Advertisement

सिल्भाले खुलाए सोसिडाड आउनुको कारण

सिल्भाले खुलाए सोसिडाड आउनुको कारण

एजेन्सी, १५ भदौ । स्पेनिस स्टार डेभिड सिल्भाले ला लिगा क्लब फर्किनुको कारण खुलाएका छन् । हालै मात्र रियल सोसिडाडमा अनुबन्ध भएका सिल्भाले उपाधि जित्नका लागि ला लिगा क्लब फर्किएको बताएका हुन् ।

म्यानचेस्टर सिटीका पूर्वस्टार सिल्भा हालै मात्र सोसिडाडले अनुबन्ध भएका हुन् । सिल्भाले ला लिगा क्लब सोसिडाडसँग २ सिजनका लागि सम्झौता गरेका छन् ।

३४ वर्षीय विश्वकप विजेता १४ जुलाई २०१० मा स्पेनिस क्लब भ्यालेन्सियाबाट सिटी आएका थिए । सन् २०१० को विश्वकप जितेसँगै सिटीमा आवद्ध भएका थिए ।

प्रिमियर लिगमा सबैभन्दा छिटो २०० खेल जित्ने खेलाडीसमेत रहेका उनले चार प्रिमियर लिग, दुई एफए कप र पाँच लिग कपको उपाधि जितेका छन् । पुनः स्पेन फर्किएका उनले उपाधि जित्ने चाहनाका साथ सोसिडाड आएको बताएका हुन् ।

‘मेरो अनुभवका कारण म टिमको एक महत्त्वपूर्ण खेलाडीका रूपमा हुनेछु । मेरो अनुभव युवा खेलाडीका लागि पनि सहयोगी हुनेछ । म भाग्यमानी छु कि मैले मेरो करिअरमा पर्याप्त कुरा जितिसकेको छु । म धेरै प्रतिस्पर्धी छु र यहीँ कुरा म सोसिडाडमा प्रयास गर्नेछु । यसै कारण म यहाँ छु,’ उनले भने ।

‘यो टोलीको खेल्ने शैली मन परेर पनि म यहाँ आएको हुँ । ट्रफी जित्न पनि मेरो यात्रा यतातिर लम्किएको हो’, उनले थपे ।