संक्रमितको संख्या शून्य रहेका जिल्ला मुस्ताङ र हुम्ला मात्र

संक्रमितको संख्या शून्य रहेका जिल्ला मुस्ताङ र हुम्ला मात्र

विराटनगर, १५ भदौ । हाल कोरोना भाइरस संक्रमितको संख्या शून्य रहेका जिल्लामा मुस्ताङ र हुम्ला मात्र रहेका छन् । त्यसबाहेक देशका ७५ वटै जिल्लामा संक्रमितहरू रहेका छन् ।

आजसम्म देशभरका ७७ जिल्लामध्ये १२ जिल्लामा संक्रमित ५०० बढी छन् । ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरूमा मोरङ, सुनसरी, पर्सा, बारा, रौतहट, सर्लाही, महोतरी, धनुषा, चितवान, ललितपुर, काठमाडौँ र रुपन्देही रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार १२९ नमूना परीक्षण भएको थियो । हालसम्म छ लाख ९३ हजार ४७२ नमूना परीक्षण भइसकेको छ ।

देशभरमा पछिल्लो २४ घण्टामा ५८८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २१ हजार ४१० रहेको छ । यो जम्मा सङ्क्रमितमध्ये ५४ प्रतिशत हो ।

देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या सात हजार ३३७ रहेको छ । देशभर जम्मा १७ हजार ८२२ सक्रिय सङ्क्रमितमध्ये १० हजार ७०१ संस्थागत आइसोलेशन र सात हजार १२१ होम आइसोलेशनमा छन् ।