स्वस्थ र आरामदायी महिनावारीको लागि डाइटमा यी कुराहरू समावेश गर्नुहोस्

विराटनगर, १५ भदौ । महिनावारीको अवधिमा वा महिनावारी हुने समयभन्दा केही अगाडि देखिनै धेरैजसो महिलाहरूलाई ऐंठन, पेट तथा ढाड दुख्ने, पेट ढुस्स हुने, अपच, भारी स्तन, वाकवाकी लाग्ने, भोक नलाग्ने जस्ता सामान्य लक्षणहरूदेखि गम्भीर समस्याहरू देखा पर्छन् ।

महिनावारी महिलाहरूको जीवनको एक हिस्सा हो र यसबाट हुने लक्षणहरूलाई जिवनशैली परिवर्तन गरेर केही हदसम्म घटाउन सकिन्छ ।

खाना, प्रशस्त पानी र व्यायामले पनि केही हदसम्म यी लक्षणहरूलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ । अनुसन्धानहरूमा अनुसार पर्याप्त क्याल्शियम र ओमेगा ३ को साथ तरकारीहरू खाँदा लक्षणहरू कम गर्न मद्दत गर्न सक्छ । स्वस्थ र आरामदायी महिनावारीको लागि फलफूल, तरकारी, दूधलगायतका डाइटहरू समावेश गर्नुपर्छ ।

गहुँ, ओट्स र ब्राउन राइसमा हुने फाइबरले कब्ज रोक्न मद्दत गर्छ । साथै, यसमा बी भिटामिन, एन्टिअक्सीडन्ट पनि प्रशस्त मात्रामा हुन्छ ।

कम फ्याट भएको दूध, दही, लस्सी आवश्यक छन् । प्रोबियोटिक्स र क्याल्सियमले पेट दुख्ने कम गरी अपचमा सहयोग गर्छ । साथै, लस्सीले शरीरलाई डिहाइड्रेट हुन दिँदैन ।

गेडागुडी, नट्स, फ्याक्स र चिया सिड्स तथा साल्मनबाट पाइने स्वस्थ प्रोटिनले फाइटोन्युट्रिएन्ट्स, ओमेगा ३ प्रदान गर्छ जसले रक्तश्राबका कारण हुने हानीमा सहयोग पुर्‍याउँछ । धेरै मात्रामा तरकारीहरू, विशेषगरी हरियो सागसब्जीले फाइबर थप्छ र रगतको क्षतिलाई पूरा गर्न आइरन प्रदान गर्छ । तरकारीले शरीरलाई तनावमुक्त राख्न महत्वपूर्ण एन्टिअक्सिडन्टहरू समेत प्रदान गर्छ ।

फलफूलहरूले भिटामिन र एन्टीआक्सिडन्टहरू प्रदान गर्छ । फलफूलको जुसको सेवनभन्दा पनि सिङ्गो फलको सेवन गर्नु लाभदायक हुन्छ ।

ताजा कागती पानी र नरिवल पानी हाइड्रेसनको लागि राम्रो हुन्छ । महिनावारीको समयमा जंक फुड, कोल्ड ड्रिंक्स, फ्राइड खानाहरूको सेवन गर्नहुँदैन । यस्तो बेलामा पाचनमा समस्या हुने हुँदा यी खानेकुराले थप समस्या निम्त्याउन सक्छ ।

Loading...