बेसारमा भएको मिसावट पत्ता लगाउने तरिका

विराटनगर, १५ भदौ । कोरोना भाइरसको रोकथामको उपाय र शरीरको रोग प्रतिरोधी क्षमता बढाउन सरकारी निर्देशिकामा पनि दैनिक रूपमा बेसार प्रयोग गर्न सुझाइएको छ ।

बेसारमा औषधीय गुण भएपनि यसको अत्यधिक सेवनले शरीरलाई लाभभन्दा धेरै हानी हुने विज्ञहरूले बताउँदै आएका छन् ।

अत्यधिक बेसार सेवन गर्दा हुने हानीबाहेक बजारमा उपलब्ध बेसारको गुणस्तर पनि चिन्ताको विषय बनेको छ ।

बेसारको मनपरी प्रयोग र बजारमा पाइने मिसावटयुक्त बेसारको प्रयोग निकै घातक हुनसक्ने त्रिभुवन विश्वविद्यालयअन्तर्गत औषधि चिकित्सा विज्ञान विभागका सहप्राध्यापक डा. सम्मोद आचार्यले बताएका छन् ।

आफैँले खेतबारीमा रोपेको बोटबाट सङ्कलित कन्दबाट निर्मित धूलो बेसार शुद्ध हुन्छ । तर, बजारमा उपलब्ध बेसारमा मिसावट भएको हुन सक्छ । नेपाली बजारमा उपलब्ध बेसारमा पहेँलो रङ्ग ल्याउनका लागि ‘लेड क्रोमेट’ मिसाइएको पाइने गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएअनुसार बेसारमा चक, मैदा, र स्टार्च मिसाइने गरेको पाइएको भएपनि विगतमा जस्तो हालको समयमा धेरै परिमाणमा मिसावट हुने भने देखिएको छैन ।

विभागकी महानिर्देशक मतिना जोशी वैद्यले बजारबाट सामान आफैँ ल्याएर परीक्षण गरिने र बेसार लगायतका मसला उत्पादन गर्नेहरूको सामान अनुमति लिने वा त्यसको नवीकरण गर्ने बेला अनिवार्य परीक्षण गरिने हुँदा समस्या घटेको जनाएकी छिन् ।

धूलो बेसारको परीक्षण प्रयोगशालामै गरिनुपर्ने भए पनि केही हदसम्म घरेलु विधिबाट पनि बेसरको गुणस्तरबारे जानकारी प्राप्त गर्न सकिन्छ ।

विभागमै कार्यरत खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ डा. हुमा बखिम गिलासमा पानी र बेसार मिसाएर केही समय छोड्दा चक मिसिएको खण्डमा तल बस्ने र मैदालगायतका वस्तु प्रयोग भएको छ भने डल्लो पर्ने बताउँछिन् ।

पानीमा बेसार नघुल्ने हुँदा पानीमा मिसाउना साथ कडा रङ्ग सर्नु पनि मिसावटको एक किसिमको सङ्केत हो । मिसावटको सम्भावना रहने हुँदा सकेसम्म खुला रूपमा कारोबार गरिने बेसार किन्नु हुँदैन ।

साथै, बेसार किन्दा प्याकेटमा डीएफटीसीक्यू नम्बर देखिएको उत्पादन गुणस्तर विभागबाट प्रमाणित भएको हुन्छ ।

Loading...