सप्तरीमा एक साता निषेधाज्ञा थपियो

सप्तरी, १५ भदौ । जिल्ला प्रशासन कार्यालय सप्तरी राजविराजले निषेधाज्ञाको समय एक साताका लागि थप गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकमा तीन घण्टा लामो छलफलपश्चात निषेधाज्ञाको म्याद थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

जारी गरिएको निषेधाज्ञा समय सोमबार राति १२ बजेपछि सकिँदै छ । जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सप्तरी राजविराजले पहिलो पटक गत ८ साउनबाट निषेधाज्ञा जारी गरेको थियो ।

पहिलो चरणमा राजविराज नगरपालिका क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरिएकोमा २३ साउनदेखि जिल्लाभरि नै जारी गरिएको थियो । त्यसपछि तेश्रो चरणमा २ देखि १५ भदौसम्मका लागि निषेधाज्ञाको समय थपिएको थियो ।

पछिल्ला दिनमा कोरोनाको संक्रमण बढ्दै गएपछि चौथो पटक २३ भदौसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।

Loading...