मुखर्जीको निधनबाट नेपालले एउटा महान साथी गुमायो : प्रधानमन्त्री ओली

काठमाडौं, १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वराष्ट्रपति प्रवण मुखर्जीको निधनबाट आफू दुःखी भएको बताएका छन् । सोमबार ट्वीट गर्दै ओलीले प्रवण नेपालको महान साथी रहेको बताएका छन् ।

ट्वीटमा ओलीले मुखर्जीले सार्वजनिक जीवन बिताउने क्रममा नेपाल र भारतको सम्बन्ध बलियो बनाउन धेरै प्रयासहरू गरेको बताएका छन् ।

उनले दुःखको यस घडीमा भारत सरकार, भारतीय जनता र शोकसंतप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

पूर्वराष्ट्रपति मुखर्जीको निधनबाट नेपालले एक महान् मित्र गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुखर्जीले विभिन्न ओहदामा रहेर नेपाल –भारत सम्बन्ध सुदृढ गर्न पुर्‍याएको योगदानको स्मरण पनि गरेका छन् ।

‘नेपालले उहाँको निधनबाट एउटा महान साथी गुमाएको छ’, ट्वीटमा उनले लेखेका छन् ।

मुखर्जीको सोमबार ८४ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कमा रगत जमेपछि गत अगष्ट १० मा अस्पताल भर्ना भएका पूर्वराष्ट्रपति मुखर्जीको केही दिनअघि शल्यक्रिया गरिएकोमा आज निधन भएको उनका छोरा एवं पूर्व सांसद अभिजीत मुखर्जीले ट्वीटमार्फत जानकारी दिएका छन् ।

उनी केही समयअघि कोरोनाबाट समेत संक्रमित भएका थिए । उनले विभिन्न समयमा भारतीय वित्त, रक्षा र विदेश मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका थिए ।

Loading...