आयुर्वेदिक उपचार पद्दतितर्फ बढ्दो आकर्षण

इलाम, १५ भदौ । जडीबुटीबाट बनेका औषधिले एलोपेथिक औषधिको जस्तो साइडइफेक्ट नरहने र रोग निको भई शारीरिक दुर्वलता पनि कम हुने भएपछि पछिल्लो समय आयुर्वेदिक उपचार पद्दतितर्फ सर्वसाधारणको आकर्षण बढेको छ ।

आयुर्वेद विधिबाट रोग लाग्न नदिने र रोग लागेपछि पनि सस्तोमा उपचार हुने तथा साइडइफेक्टको सम्भावना न्यून रहेकाले आकर्षण बढेको हो । कोरोना भाइरस संक्रमणबाट बच्नका लागि पनि आयुर्वेदिक औषधि सेवन गर्नुपर्ने आयुर्वेदिक चिकित्सकको सुझाव छ । जडीबुटीबाट बनेका औषधिको सेवनले रोग प्रतिरोधात्मक शक्ति बढाउने भएकाले यसको उपभोग गर्नुपर्ने उनीहरुको सुझाव छ ।

जण्डिसका ‘जडी’ बालकृष्ण

दुई दशकदेखि जण्डिसको उपचार गर्दै आएका इलाम सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका बालकृष्ण सापकोटाले घरायसी जडीबुटी मिलाएर नै औषधि बनाउँछन् र बिरामीलाई वितरण गर्छन् । जिल्लाका मात्र नभई अरू जिल्लाका जण्डिसका बिरामीलाई समेत निको पार्ने बालकृष्णलाई २०५१ सालतिर आफ्नै बहिनीको जण्डिस लागेर यहाँ उपचार सम्भव नभएपछि भारतका धेरै अस्पताल धाउनुप¥यो ।

रोग निको नहुने र यही रोगले मृत्युसमेत हुनसक्ने चिकित्सकले बताएपछि बालकृष्णलाई अत्यन्तै पीडा भयो । आफू बसेको ठाउँको नजिकका व्यक्तिले बहिनीको उपचार आयुर्वेदिक विधिबाट गर्न उनलाई सल्लाह दियो । उनकै सल्लाहले बालकृष्ण बहिनीलाई लिएर भारतको वङ्गालका एक गुरुकहाँ गए । ती गुरुले दिएको औषधिले बहिनीको शरीरमा सुधार आउन थाल्यो । त्यसपछि बालकृष्णले गुरुसमक्ष आफूले पनि जण्डिसको औषधि सिक्न चाहेको बताए । गुरुसँग १५ दिन जडीबुटी बटुल्न र त्यसपछि औषधि बनाउन सिकेको शिक्षाले नै अहिले बालकृष्ण जण्डिसका नाम चलेका वैद्य भएका छन् ।

‘आजसम्म एक÷दुईजनाबाहेक धेरैको जण्डिस रोग निको पारेको छु । घरमा नै उपचार गर्छु,’ बालकृष्णले भने, ‘अहिलेसम्म कतिलाई उपचार गरे एकिन तथ्यांक त आफूसँग छैन तर दश हजारभन्दा बढी बिरामीलाई निको पारेको छु ।’ उनले गाउँकै जंगली असोगन्धा, पथ्थरजट्टा, विनाजरी, वन घिरौलालगायतका जडीबुटी मिसाएर औषधि बनाउने गरेको बताए ।

सपनाबाट सिकेर वैद्य बनेका भुजेल

सन्दकपुर गाउँपालिकाकै जमुनाका मानबहादुर भुजेल पनि गाउँका कहलिएका वैद्य हुन् । गाउँमा कसैको खुट्टा मर्कियो, भाँचियो वा अरू केही भयो भने भुजेलकैमा पुग्छन् । २०४६ सालदेखि गाउँमा हाडजोर्नी तथा नसाको उपचार गर्दै आएका भुजेल आफूले सपनाबाट उपचार पद्दति सिकेर वैद्य भएको दाबी गर्छन् ।

गाउँका मात्र नभई झापा, धनकुटा र काठमाडौँदेखिका बिरामीसमेत उपचारका लागि आफूकहाँ आउने गरेको दाबी भुजेलको छ । ‘धर्म सम्झेर उपचार गर्छु, गाउँमा फोन गरेर बोलाउँदा औषधि लिएर पुग्छु,’ उनले भने, ‘औषधिको दाम यतिउति भन्दिनँ । एथाशक्तिरूपमा दिनुभयो भने लिन्छु नभए धर्म सम्झेर फर्किन्छु ।’

तराई/मधेसमा पाइने हर्रो, बर्रो पथ्थरको बोक्रा, अमलाको बोक्रा र लेकका जडीबुटी सतुवा, भोगटेको बोक्रो कुटेर औषधि बनाउने गरेको उनले बताए । जडीबुटी भनेर हेला गर्नु हुँदैन, अस्पतालले उपचार गर्न नसकेका बिरामीलाई आफूले निको गरेको दाबी भुजेलको छ ।

भारतको सीप नेपालमै खन्याउँदै गरेका वैद्यराज

सूर्योदय नगरपालिकास्थित पशुपतिनगरका कुलबहादुर राईले २०१३ सालमा भारतको कलकत्तामा आयुर्वेदिक शिक्षा सुरु गरे । सुरुमा जटिल लागेको यो विषय सात वर्ष अध्ययन गरेपछि मात्र केही उर्जा थपियो । विशेषगरी महिलामा बाँझोपन, पाठेघरको समस्या, प्रसूति तथा यौन रोगको उपचार गर्ने राईले आफ्नो उपचारबाट अहिलेसम्म धेरै जनालाई निको भएको बताए ।

आफैं जडीबुटी संकलन गरेर औषधि बनाउने गरेका राईले औषधि तयार पार्न धेरै दुःख झेल्नु परिरहेको बताए । आफूले बनाउने औषधिमा दुर्लभ किसिमको जडीबुटी पर्ने भएकाले यसका लागि कर तिर्नुपर्ने, नापी गर्नुपर्ने र सम्बन्धित कार्यालयबाट स्वीकृति लिएपछि मात्र ल्याउनु पर्नेजस्ता झन्झट बेहोर्नु परिरहेको उनको भनाइ छ । ‘जटामसी, लेमन ग्रास, खैरको बोक्रा, पाँचऔलेलगायतका जडीबुटी मिसाएर औषधि तयार गर्नुपर्छ । यी औषधि किन्न वन कार्यालयको स्वीकृत चाहिन्छ,’ उनले भने, ‘वन कार्यालयको स्वीकृति लिएर पहिलै निश्चित जग्गा खरिद गर्नुपर्छ र त्यसबाट उत्पादित औषधि लिँदा पनि कर बुझाउनु पर्छ । साहै्र सकस छ ।’

घरेलु तथा साना उद्योग विकास शाखाबाट आफूले प्रशिक्षकका रुपमा विभिन्न ठाउँमा आयुर्वेदिक उपचार पद्दति सिकाए पनि पछिल्लो पुस्ताले यसप्रति खासै चासो नदेखाएको राईको भनाइ छ ।

हड्डी रोग निको पार्ने गाउँले गुरु

सूर्योदय नगरपालिकाकै लोकश सुब्बाले पनि लामो समयदेखि आयुर्वेदिक उपचार पद्दतिबाट उपचार गर्दै आएका छन् । आफ्नै घर छेउमा औषधालय खोलेर हड्डी खिएको र मर्किएको बिरामीलाई उनले उपचार गर्दै आएका छन् ।

‘जडीबुटीबाट बनेको मात्र औषधि चलाउँछु । अहिलेसम्म ठिक भएन भन्दै कोही आउनुभएको छैन,’ उनले भने, ‘२०६१ सालदेखि पेसागतरूपमा आयुर्वेदिक पद्दतिबाट उपचार गर्न थालिएको र यसका लागि ‘सुब्बा आयुर्वेदिक उपचार केन्द्र’ नामक औषाधालयसमेत खोलेको छु ।’ रासस

Loading...