बार्सिलोनाको प्रशिक्षणमा पनि मेस्सी अनुपस्थित

एजेन्सी, १५ भदौ । बार्सिलोनाका कप्तान लियोनल मेस्सी क्लबकाे प्रशिक्षणमा पनि अनुपस्थित भएका छन् । प्रि–सिजनको तयारीका लागि बार्सिलोना आजबाट प्रशिक्षणमा फर्किएको हो ।

बार्सिलोनाका प्रायः खेलाडी प्रशिक्षण मैदान फर्किँदा अर्जेन्टिनी स्टार मेस्सी अनुपस्थित भएको जनाइएको छ ।

क्लब छोड्ने जानकारी गराइसकेको हुँदा मेस्सी प्रशिक्षणमा मैदान नफर्किएको बताइएको छ । क्लब छोड्ने निर्णय लिएपनि बार्सिलोनाले मेस्सी प्रशिक्षणमा फर्किने अपेक्षा गरेको थियो ।

बार्सिलोनाका नयाँ खेल निर्देशक रामोन प्लानले कोरोना परीक्षण गरी खेलाडीलाई आजबाट प्रशिक्षण मैदान फर्काएका हुन् । तर, मेस्सी अनुपस्थित भएपछि बार्सिलोना दबाबमा परेको छ ।

गत मंगलबार साँझ मात्र ३३ वर्षीय मेस्सीले क्लब छोड्ने जानकारी बार्सिलोनालाई गराएका थिए ।

मेस्सीले बार्सिलोनाबाट निरन्तरता नदिने भन्दै यसै समरमा क्लब छोड्ने वातावरण मिलाइदिन बोर्डसँग प्रस्ताव राखेका थिए ।

यता, बार्सिलोनाले भने उनको प्रस्ताव अस्वीकार गरेको जनाइएको छ । यसै कारण बार्सिलोना र मेस्सीबीचको विवाद बढ्नसक्ने देखिएको छ ।

Loading...