काठमाडौं उपत्यका वरिपरि पाँच लाख पर्यटक अट्ने पर्यटन पूर्वाधार तयार गरिने

काठमाडौं, १५ भदौ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले काठमाडौँ उपत्यका वरिपरि पाँच लाख पर्यटक बस्न मिल्नेगरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् ।

मन्त्रालयमा सोमबार नेपाल पर्यटन बोर्डका निर्देशकहरूसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक विदाको दिनमा उपत्यका वरिपरि पाँच लाख पर्यटक अटने गरी पर्यटन पूर्वाधार पदमार्ग, साईकलिङ, ट्रेल पर्यटन उपजको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिएका हुन् ।

प्रदेशस्तरमा प्रदेश सरकारसँग समन्वय गरी पर्यटन बोर्डको शाखा चाँडो गठन गर्नसमेत निर्देशन दिँदै मन्त्री भट्टराईले पर्यटन बोर्डलाई सात वटा भाषा नेपाली, हिन्दी, चाईनिज, अरवी, पोर्चुगल र स्पेनिस भाषामा डिजिटल सामाग्री तयार गर्न आग्रह गरे ।

मन्त्री भट्टराईले अनावश्यक खर्च कटौती गरी आर्थिक मितव्ययिता कायम गर्न निर्देशन दिए । विदेश तथा स्वदेशमा हुने भ्रमण खर्चमा कटौती गर्न निर्देशन दिँदै उनले पर्यटन बोर्डका पदाधिकारीहरूलाई कोभिड–१९ को महामारीको समयमा भर्चुअल टुरका प्याकेज बनाउन आग्रह गर्दै विश्व सम्पदा, हिमाल, टेकिङ सिमसार, म्युजियम निकुञ्जलगायतका भर्चुअल टुरको सामाग्री तयार गर्न निर्देशन दिए ।

मन्त्री भट्टराई अहिलेको खोज अनुसन्धान, योजना निर्माण रिर्पोट तथा पर्यटकिय क्षेत्रका बृत्त चित्रलगायत सामाग्रीहरू प्रकाशन तथा प्रशारण गर्न आग्रह गरे । उनले कोभिडका कारण पर्यटन ब्यवसायी, पर्यटन मजदुरलगायतमा देखिएका समस्या तथा पलायन रोक्न मनोसामाजिक परामर्श सेवा सुरु गर्न पर्यटन बोर्डलाई निर्देशन दिए ।

उनले विभिन्न देशका रहेका पर्यटन डेक्सलाई सक्रिय बनाई स्वदेश तथा विदेशमा पर्यटन क्षेत्रका संघ संस्थाहरूसँग नेटवक विस्तार गर्नसमेत आग्रह गरे । कोभिड १९ ले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेका भन्दै मन्त्री भट्टराईले कोभिडपछि पर्यटन उत्थानका लागि के के गर्न सकिन्छ त्यसको आवश्यक योजना बनाउनसमेत आग्रह गरे ।

उनले नेपालमा स्वास्थ्य, शिक्षा, खेलकुद पर्यटनको सम्भावनाका बारेमा अध्ययन अनुसन्धान गर्न आग्रह गरे ।

Loading...