लाजियोसँग युरोपियन गोल्डेन बुट विजेता इम्मोबाइलको पाँच वर्षे सम्झौता

एजेन्सी, १५ भदौ । युरोपियन गोल्डेन बुट विजेता सिरो इम्मोबाइलले लाजियोसँग सम्झौता लम्ब्याएका छन् ।

२०१९–२० को सिजनमा सर्वाधिक गोल गर्दै युरोपियन गोल्डेन बुट जितेका इम्मोबाइलले लाजियोसँग पाँच वषे सम्झौता थपेका हुन् ।

लाजियोले इटालियन खेलाडी इम्मोबाइलसँग पाँच वर्षका लागि सम्झौता गरेको जानकारी दिएको छ । ३० वर्षीय खेलाडीले थप पाँच वर्ष इटालियन सिरी ‘ए’ खेल्ने पक्का भएको छ ।

लाजियोका स्ट्राइकर इम्मोबाइलले युरोपका शीर्ष पाँच लिगमा बायर्न म्युनिखका स्टार रोबर्टो लेवान्डोस्की र युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई उछिन्दै गोल्डेन बुट जितेका थिए ।

उनले २०१९–२० को सिरी ‘ए’ मा ३७ खेल खेल्दा ३६ गोल र आठ असिस्ट गरेका थिए । इम्मोबाइलले सिरी ‘ए’मा तेस्रो पटक गोल्डेन बुट प्राप्त गरेका थिए ।

Loading...