विराटनगरका निजी अस्पतालमा भर्ना गर्न सीडीओको सोर्स, पहुँच नहुनेको ज्यान गुम्यो

विराटनगर, १५ भदौ । केही दिनअघि खडग नगरपालिका–१ सप्तरीमा खुकुरी आक्रमणबाट गम्भीर घाइते भएका ५० वर्षीय पुरुषलाई विराटनगरका निजी अस्पतालले भर्ना गर्न मानेनन् । मध्यरातमा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलासम्म कुरा पुग्यो । राति प्रमुख जिल्ला अधिकारी निरौलाले विराट नर्सिङ होममा फोन गरे । सुरुमा विराटले पनि भर्ना गर्न मानेको थिएन । सीडीओको फोनपछि विराटले ६ भदौमा भर्ना गर्याे । ती व्यक्ति आइतबार उपचारपछि घर फर्किए ।

शनिबार साँझ भात सर्किएर बेहोस भएकी उदयपुरको चौदण्डीगढी नगरपालिका–६ की ६५ वर्षीय डम्बरकुमारी बस्नेतलाई आफन्तले राति विराटनगर ल्याए । तर विराटनगरका सातवटा अस्पताल पुग्दा उनलाई भर्ना गरिएन । प्रमुख जिल्ला अधिकारीसम्म पहुँच नभएकी उनले उपचार पाइनन् । घर फर्किएको केही घण्टापछि आइतबार बिहान मृत्यु भयो ।

बुधबार राति मोरङ पथरी–शनिश्चरे नगरपालिका–२ की ६२ वर्षीय सानकुमारी राईलाई रातभरि डुलाउँदा विराटनगरका पाँचवटा अस्पतालले भर्ना गर्न मानेनन् । बिहिबार बिहान कोशी अस्पताल पुगेको केही समयपछि उनको मृत्यु भयो ।

माथिका घटना प्रतिनिधि हुन् । निजी अस्पतालको मनोमानीका कारण उपचारका लागि आएकाहरुले अकालमै ज्यान गुमाइरहेका छन् ।

कोरोना संक्रमण जोखिम देखाउँदै निजी अस्पताल बिरामी भर्ना गर्न पन्छिरहेका छन् । अझ रातको समयमा बिरामी आए अस्पतालको गेटबाटै फर्काउँछन् ।

निजी अस्पतालको मनोमानीका कारण अकालमै मान्छेको ज्यान गइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला बताउँछन् ।

‘अस्पतालले भर्ना गरेर भन्दै मलाई धेरै गुनासा आएका छन्, गुनासा आएलगत्तै सम्बोधन पनि गरेको छु,’ उनले भने, ‘अस्पतालले भर्ना गर्न नमानेका ४–५ वटा केसमा मैले फोन गरेर भर्ना गर्न लगाएको छु ।’

आफूले फोन गर्दा पनि अस्पतालहरुले भर्ना गर्न आनाकानी गर्ने गरेको उनले बताए । ‘मलाई गुनासो आउँदा राति २ बजे पनि रेस्पोन्स गरेको छु,’ उनले भने, ‘सबैको पहुँच सीडीओसँग नहुन सक्छ, तर निजी अस्पताललाई बिरामी फर्काउने काम बन्द गर्न भनेको छु ।’

प्रमुख जिल्ला अधिकारी तथा राजनीतिक पहुँच भएका व्यक्तिले भनुसुनका आधारमा अस्पतालमा उपचार पाउँछन् । तर डम्बरकुमारी र सानकुमारीजस्ता पहुँच नभएका नागरिक भने अस्पताल डुल्दाडुल्दै प्राण त्याग्न बाध्य छन् ।

निजी अस्पताललाई बिरामी नफर्काउन आग्रह गरिरहेको प्रजिअ निरौला बताउँछन् । पटक–पटक आग्रह गरेको बताउँदै उनले अटेर गरे कारवाही गरिने बताए ।

अफिन अध्यक्ष अधिकारी भन्छन् : यो सामान्य अवस्था होइन

निजी अस्पतालहरुको छाता संगठन अफिन प्रदेश १ अध्यक्ष डाक्टर शंकरप्रसाद अधिकारी अहिलको अवस्था असामान्य भएको बताउँछन् । संक्रमणको जोखिम उच्च हुने भएकाले सरकारले पीसीआर जाँच छिटो र छरितोरुपमा गर्नुपर्ने बताउँछन् ।

‘फिबर क्लिनिक भएका अस्पतालमा पीसीआर छिटो रिपोर्ट दिएर अरुतिर रेफर गर्न सकिन्छ,’ उनी भन्छन्, ‘निजी अस्पतालसँग पीसीआर जाँच गर्ने मेसिन छैन । शंकास्पद बिरामी भर्ना गरे कोरोना फैलन सक्छ ।’

सबै अस्पतालहरुमा आइसोलेसन बनाउन सक्ने क्षमता नभएको बताउँदै उनले संक्रमणको जोखिम भएकाले बिरामी रेफर गर्नुपर्ने बाध्यता रहेको बताए ।

Loading...