Rumpum

Rumpum Advertisement

भर्चुअल तेक्वान्दोमा मूलपानी च्याम्पियन, प्रेम र नितालाई स्वर्ण

भर्चुअल तेक्वान्दोमा मूलपानी च्याम्पियन, प्रेम र नितालाई स्वर्ण

काठमाडौं, १५ भदौ । ‘प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगिता’अन्तर्गत मूलपानी तेक्वान्दो डोजाङ च्याम्पियन बनेको छ । काठमाडौं जिल्ला तेक्वान्दो सङ्घद्वारा आयोजित उक्त प्रतियोगितामा मूलपानी तीन स्वर्ण, तीन रजत तथा पाँच कास्य पदकसहित च्याम्पियन बनेको हो ।

यस्तै एक स्वर्ण, दुई रजत र एक कास्य पदकका साथ चितवन दोस्रो तथा एक स्वर्ण, एक रजत र एक कास्य पदकका साथ कैलाली तेस्रो भएको छ । प्रतियोगितामा कूल ११ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

आयोजक संघका अध्यक्ष अशोक खड्काका अनुसार स्युचाटार, सैनिक महाविद्यालय, विजेश्वरी मावि, नेपाल प्रहरी, नेपाली सेना र रुपन्देहीले एकएक स्वर्ण पदक प्राप्त गरेको हो ।

प्रतियोगितामा यु–१८ पुरुष एकलतर्फ १३औँ दक्षिण एशियाली खेलकुद (साग) का कास्य पदक विजेता अस्मिन राउतले स्वर्ण जिते । उनले ६ दशमलव ५३ अंक प्राप्त गरेका थिए ।

चितवनका अब्बास खानले ५ दशमलव ९६ अंकका साथ रजत तथा चितवनकै सागर बरालले ५ दशमलव ८३ अंक र कैलालीका लक्ष्मण श्रेष्ठले ५ दशमलव ६३ अंक प्राप्त गर्दै कास्य पदक पाए ।

यू–१८ महिला एकलतर्फ नेपाली सेनाकी रोशनी श्रेष्ठले ६ दशमलव ५० अंक प्राप्त गर्दै स्वर्ण जितिन् । चितवनकी जैनब खातुनले ६ दशमलव २० अंकका साथ रजत तथा मूलपानीकी अस्मिता नगरकोटीले ६ दशमलव १३ अंक र सुनसरीकी सुदेशना गुरुङले ५ दशमलव ७६ अंक ल्याइ कास्य पदक प्राप्त गरिन् ।

यसैगरी यु–३१ पुरुष एकलतर्फ नेपाल प्रहरीका प्रेमबहादुर लिम्बूले ६ दशमलव ७३ अंक प्राप्त गर्दै स्वर्ण पदक जिते । उनी १३ औं सागको कास्य पदकधारीसमेत हुन् ।

सागका कास्य पदकधारी नेपाली सेनाका दीपेन्द्र गुरुङले ६ दशमलव ५० अंकका साथ रजत तथा मूलपानीका पुष्पप्रसाद गौतम ६ दशमलव २० अंक र दोलखाका नोर्बु मोक्तानले ५ दशमलव ९६ अंकका साथ कास्य पदक प्राप्त गरे ।

यु–३१ महिला एकलतर्फ १३औं सागका स्वर्ण पदक विजेताद्वय निता गुरुङ र सन्जिला तिम्सिनाबीच कडा प्रतिस्पर्धा भएको थियो ।

सेनाकी निताले ६ दशमलव ७० अंकसाथ स्वर्ण तथा स्युचाटारकी सन्जिलाले ६ दशमलव ५६ अंकसाथ रजत प्राप्त गरिन् । सो स्पर्धामा मूलपानीकी चन्दु शाहीले ६ दशमलव १६ अंक र दाङकी सुनिता विष्टले ५ दशमलव ४३ अंक ल्याइ कास्य पदक प्राप्त गरिन् ।

यसैगरी पुरुष ४१ वर्षमाथिको उमेर समूहमा मूलपानीका मधुसूदन सापकोटाले ५ दशमलव ९० अंक प्राप्त गर्दै स्वर्ण जिते । कैलालीका आशिष चन्दले ५ दशमलव ६० अंक ल्याई रजत तथा रुपन्देहीका विकास उदयले ५ दशमलव ४६ अंक र गैरीगाउँका सोभितमान गिरीले ५ दशमलव ४६ अंक ल्याई कास्य पदक प्राप्त गरे ।

आयोजक सङघका अध्यक्ष खड्काका अनुसार उक्त प्रतियोगितामा १९ टोलीका १७० खेलाडीको सहभागिता थियो । प्रतियोगितामा अशोक खड्का, मीन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । रासस