तातोपानीले कोरोना जितिन्न : भाइरोलोजिष्ट खड्का

बागलुङ, १५ भदौ । नेपालकै छैटौँ कोरोना संक्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया मनकुमारी पौडेलले कोरोनामुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भनेकी थिइन्, ‘मैले आत्मवल र तातोपानी खाएरै कोरोना जितेँ ।’

धौलागिरी अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकी उनलाई दुई हप्ताको बीचमा एक दिन उच्च रक्तचापबाहेक कुनै पनि औषधिको प्रयोग गर्नु परेन । चैतमा पहिलो पटक देखिएका दुई संक्रमितको एकै स्वर थियो, ‘स्वास्थ्यकर्मीको व्यवहार, आफ्नो आत्मवल र खानपानको व्यवस्थापनले नै कोरोना जित्यौँ ।’

आइतबार दिउँसोसम्म बागलुङमा संक्रमितको संख्या २८६ पुगेको छ । तीमध्ये २६१ जना आइसोलेसनमा बसेर निको भएपछि घर फर्किए । कोरोनाका कारण एकजनाको ज्यान गयो । निसीखोलाका पुरुषमा मृत्युपछि कोरोना संक्रमण रहेको पुष्टि भएको थियो ।

जिल्लाका आइसोलेसन र प्रि–आइसोलेसनको तथ्यांकअनुसार निको भएका अधिकांशमा कोरोना संक्रमणको लक्षण नै थिएन । उनीहरु कसैले पनि न त खोपको प्रयोग गरे न औषधि नै । सबैले भन्ने एउटै हो, ‘ढुक्कले बसेँ, समाचार पढेँ, तातोपानी खाएँ, कोरोना जितेँ ।’ यद्यपि आइसोलेसनमा बसेर तातोपानी खाँदैमा वा आत्मवल बढाउँदैमा कोरोना नजितिने विशेषज्ञको धारणा छ ।

‘निको हुन्छ, ९८ प्रतिशतमा ग्यारेन्टीका साथ निको हुन्छ त्यसमा दुईमत रहेन,’ अमेरिकामा रहेका जीवाणु वैज्ञानिक (भाइरोलोजिष्ट) सुदीप खड्का भन्छन्, ‘कोरोनाको न त कुनै औषधि प्रमाणित छ न खोप, तातोपानी र आत्मवलले निको हुने रोग होइन, खेलबाड नगरौँ ।’ उनी इबोला भाइरसको सुई पत्ता लगाउने वैज्ञानिकमध्येको एक सदस्य हुन् ।

लक्षण नदेखिएका अधिकांश बिरामी निको हुने भएकाले तातोपानी, आत्मवल र जडीबुटीको भ्रम परेको उनको जिकिर छ । ‘कोरोना लागे पनि तातोपानीले जितिन्छ भनेर भ्रममा नपरौँ, यो गलत हो,’ खड्का भन्छन्, ‘लक्षण भएका र जोखिममा रहेका बिरामीलाई कठिन हुन सक्छ ।’ अरु भाइरसभन्दा कोरोनाकोे फैलावट धेरै भएकाले यो रोगसँग खेलबाड गर्न नहुने उनको तर्क छ । नेपालमा पछिल्लोपटक समुदायमा फैलिएको संक्रमणले थप खतराको संकेत गरेको भन्दै इबोलाभन्दा कम मृत्युदर भएको कोरोनाले धेरैको मृत्यु निम्त्याउने उनले बताए ।

‘एक तिहाई मान्छेलाई यसको लक्षण नै देखिँदैन, जुन खतरनाक हो,’ खड्का भन्छन्, ‘अहिले हामीले सबै निको हुन्छ भनेर हेलचेक्र्याइँ गर्दा दुई प्रतिशतमा पर्ने उमेर पुगेको समूहलाई निकै कठिन हुन्छ ।’ उनले कोरोनाको औषधि वा खोप तयार भएर तत्काल आउने सम्भावना नरहेकोसमेत बताए ।
खड्काले भने, ‘इबोलाको खोप सबैभन्दा छोटो समयमा बनेको हो, जसका लागि दुई वर्ष लाग्यो ।’ कोरोनाको तयार भएको खोप तेस्रो परीक्षणमा रहेको भए पनि त्यसको उपलब्धता अझै कठिन रहेको उनको भनाइ छ । ‘खोप बने पनि त्यसको उत्पादन सबैलाई पुग्ने गरी बनाउन कति समय लाग्ला ?,’ प्रतिप्रश्न गर्दै उनले भने, ‘त्यसैले हामीले सतर्कता अपनाउनुको विकल्प नसोचौँ ।’

विदेशमा जस्तो नेपालमा संक्रमण फैलिँदैन भनेर चलेका हल्लासमेत भ्रम भएको भन्दै उनले आगामी दिन थप खतरनाक भएको संकेत गरे । अस्पताल, भेन्टिलेटर र आईसीयू लक्षण भएका बिरामी र कोरोनाका कारण कठिन अवस्थामा रहेका बिरामीको लागि तयार राख्नुपर्ने खड्काको सुझाव छ ।

Loading...