हरियो चियाको मूल्य उच्च, प्रतिकिलो ४० रुपैयाँ पाउँदा किसान उत्साहित

विराटनगर, १५ भदौ । चियाको मूल्यवृद्धि भएपछि किसान उत्साहित छन् । हरियो चिया नै किलोको ४० रुपैयाँको दरले बिक्री हुन थालेपछि किसान उत्साहित भएका हुन् ।

इलाम कन्यामका चिया किसान डम्बरबहादुर कटुवाल लकडाउनले चिया बिक्री नहोला कि भन्ने चिन्तामा रहेका बेला चिया उद्योगले राम्रो दाममा किनिदिएपछि उनी उत्साहित बनेका छन् ।

सूर्याेदय नगरपालिकाले नै किसानहरुको चियाको न्यूनतम ४० रुपैयाँ तोकिदिएपछि किसानहरुले राहत पाएका हुन् । केही उद्योगीले चियाको मूल्यलाई लिएर विरोध जनाए पनि हरियो पत्ती चिया नै दार्जिलिङ जान थालेपछि चिया उद्योगले किसानलाई ४० रुपैयाँ दिएर हरियो पत्ती चिया किन्न थालेका छन् ।

इलाम र झापामा अहिले हरियो पत्ती प्रतिकेजी ४० रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ । अर्थाेडक्स चियापछि सीटीसी चियाका लागि पत्ती टिप्ने गरिन्छ ।

पहिलो चिया टिपाइको पत्तीबाट तेश्रो मुलुक जाने ग्रीनटी बनाउने गरिन्छ । त्यसपछिका टिपाइका पातबाट सीटीसी चिया बन्ने गर्छ । सबैभन्दा कम गुणस्तरको पत्ती पनि प्रतिकेजी ३० रुपैयाँमा बिक्री भइरहेको चिया किसानहरुले बताएका छन् ।

वैशाख महिनाबाट चिया टिप्न सुरु गरिन्छ । साउन महिना चिया टिप्ने मध्य सिजन हो । मध्य सिजनमा सबैभन्दा बढी चियाको पत्ती उत्पादन हुने भएकाले चियाको मूल्य निकै सस्तो हुने गर्छ । तर यो पटक चियाको मूल्यमा गिरावट आउने बेलामा नै मूल्यवृद्धि भएपछि किसानमा खुसीको सञ्चार भएको हो ।

दुई दशकदेखि चिया व्यवसायमा रहेका स्टार चिया उद्योग भद्रपुरका सञ्चालक शिवकुमार गुप्ताले वर्षभरि नै सीटीसी चिया बनाउने चियापत्तीको मूल्य २० देखि २२ रुपैयाँसम्म बिक्री भएको र त्यहीअनुरुप आफूले उद्योगका लागि खरिद गरिरहेको बताए । चियाको मूल्यवृद्धि इतिहासमै सबैभन्दा बढी भएको उनको दावी छ । हरियो पत्तीको अधिकतम मूल्य २०–२२ रुपैयाँ केजीदेखि न्यूनतम १० रुपैयाँसम्म मैले नै खरिद गरेको हुँ,’ उनी भन्छन्, ‘अहिलेको मूल्य ४० रुपैयाँ प्रतिकेजी इतिहासमै बढी मूल्य तोकिएको हो ।’

भारतीय व्यापारीले तयारी सीटीसी चिया प्रतिकेजी २५० देखि तीन सय रुपैयाँसम्ममा खरिद गरिरहेका छन् । जब कि गतवर्ष सीटीसी चियाको मूल्य १३० रुपैयाँ प्रतिकेजी थियो । गतवर्षको तुलनामा यो वर्षको मूल्य दोब्बर हो ।

चिया तथा कफी विकास बोर्डका सदस्य हर्क तामाङका अनुसार भारतीय बजारमा चियाको माग बढेकाले अहिले चियाको मूल्य बढेको हो । चियाको मूल्य बढे पनि उद्योगबाट किसानले चियापत्तीको भुक्तानी तत्कालै पाइरहेको तामाङले जानकारी दिए ।

लकडाउन र मौसमका कारण यस वर्ष बगानमा हरियो चिया पत्तीको उत्पादन ५० प्रतिशतले घटेको उद्योगी रमेश पौडेल बताउँछन् ।

सिजनको पहिलो चिया पत्ती लकडाउनको कारणले टिप्न नपाउँदा काटेर फ्याँक्नु परेको उनले बताए । क्लासिक तराई टी इन्डस्ट्रिजका सञ्चालक पौडेलले लकडाउन र झरीका कारण चियाको मुना नै टिप्न नपाएको बताए ।

पौडेलको ६० बिघाको चिया बगानमा वार्षिक पाँच लाख केजी हरियो चिया पत्ती उत्पादन हुन्छ । यस वर्ष ५० प्रतिशतले हरियो पत्तीको उत्पादन घटेको छ । उत्पादन घटेकाले कतिपय चिया बगानमा असोज महिनासम्मको पत्ती बुकिङ भइसकेको छ ।

नेपाल टी प्लान्टर्स एसोसिएसनका सल्लाहकार उदय चापागाई यो पटक चियाको मूल्यवृद्धि हुनुमा उत्पादनमा आएको कमी र इलामबाट हरियो चिया नै दार्जिलिङका उद्योगहरुमा लुकीछिपी पुग्नुलाई कारण मान्छन् । उनका अनुसार पूर्वी नेपालबाट २० लाख किलो सीटीसी र १० लाख किलो अर्थाेडक्स चियाको निकासी हुँदै आएको छ ।

Loading...