इटहरीमा सय बेडको आइसोलेसन चाँडै सञ्चालनमा आउँदै

इटहरी, १५ भदौ । इटहरीमा सय बेडको आइसोलेसन निर्माणलाई तीव्रता दिइने भएको छ ।

उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र र नेपाली सेनाका प्रतिनिधि, उद्योग वाणिज्य संघसमेतको उपस्थितिमा बसेको बैठकले इटहरी–९ स्थित रंगशालामा निर्माण भइरहेको आइसोलेसनलाई चाँडै सञ्चालनमा ल्याउने गरी काम गरिने निर्णय भएको हो ।

इटहरीमा समेत संक्रमित बढ्दै गएकाले लक्षण नदेखिएका संक्रमितहरुलाई राख्नका लागि आइसोलेसन निर्माण थालिएको हो । आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले २० लाख सहयोग गरेको छ । खानेपानी, विद्युतलगायतका विभिन्न निकायहरुको सहयोगमा खानेपानी र विद्युतीकरणको कार्य भइरहेको छ ।

आइसोलेसन निर्माण र सञ्चालनमा ठूलो खर्च आवश्यक हुने भएकाले विभिन्न संघसंस्था र दाताहरुसँग सहयोगको आग्रह गरिएको छ । बैठकमा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले उद्योग वाणिज्य संघको तर्फबाट तीन महिनाका लागि खाद्यान्न सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । गोर्खा वेलफेयरले पाँच सय लिटर क्षमताको पानी ट्यांकी जडान गरिदिएको छ ।

आइसोलेसन सञ्चालनका लागि प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा मुल व्यवस्थापन समिति निर्माण गरिएको छ । यसैगरी वडाध्यक्षहरु भूपेन्द्र बरालको संयोजकत्वमा वडाध्यक्षहरु चन्द्र भट्टराई, दीपक गौतम, शिवनारायण चौधरी, मणिराम श्रेष्ठ र कार्यपालिका सदस्य गौरी परियार, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेल, महासचिव पिताम्वर पोखरेल र उपमहानगरका कर्मचारी महेश सुवेदी सदस्य सचिव रहेको उपसमिति गठन गर्ने निर्णय भएको छ । यसअघि नै शिक्षा महाशाखाका अधिकृत फाल्गुनी काफ्ले संयोजकत्वको निर्माण समिति सक्रिय छ ।

Loading...