कैदीबन्दीमा पनि बढ्दै संक्रमण

काठमाडौं, १५ भदौ । विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको संक्रमण नेपालको कारागारमा समेत देखिन थालेको छ ।

कारागारभित्र बस्ने कैदीबन्दीमा पछिल्लो समयमा संक्रमण फैलिन थालेको पाइएको कारागार व्यवस्थापन विभागले जनाएको छ । आइतबारसम्ममा शंकास्पद ८७९ जनाको पीसीआर परीक्षणमा १६६ जनामा संक्रमण भेटिएको छ । त्यसमध्ये ७२ जना संक्रमण मुक्त भइसकेको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिए । उनका अनुसार भदौको पहिलो सातामा पर्साको वीरगञ्ज कारागारबाट संक्रमण देखिएको थियो ।

त्यसपछि जोखिम क्षेत्रको सातवटा कारागारमा नमूना संकलन गरेर परीक्षण गर्दा अन्यमा समेत देखिएको हो । नयाँ कैदीबन्दी र कारागारको सुरक्षामा खटिएका प्रहरीमा पहिलो पटक कोरोना देखिएको थियो । केहीअघि काठमाडौंको केन्द्रीय कारागारसहित स्याङ्जा, बाँके, सिन्धुपाल्चोक, सिरहा, सुनसरी र पर्साको कारागारमा शंकास्पद कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीको परीक्षण गरिएको सापकोटाले बताए ।

काठमाडौंको केन्द्रीय कारागारमा मात्रै चारजनामा संक्रमण देखिएको छ । कारागारको सुरक्षाका लागि खटिएका २०७ प्रहरीमा पीसीआर परीक्षण गर्दा ५२ जना तथा कर्मचारी ७८ को परीक्षणमा सातजना संक्रमित भएका हुन् । बाँकी सबै कैदीबन्दी रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

हाल कारागारमा २४ हजार १०० कैदीबन्दी छन् । कूल ८२० कर्मचारी र झण्डै दुई हजार प्रहरी रहेका छन् । कारागारभित्र सामाजिक दूरी कायम गर्न सक्ने अवस्था नभएकाले उच्च जोखिम छ ।

Loading...