हिंसा बढेपछि अमेरिकामा तनाव

विराटनगर, १५ भदौ । हिंसा बढेपछि विश्वकै शक्तिसाली मुलुक भनेर आफूलाई दाबी गर्ने अमेरिकामा तनाव थपिएको छ ।

हिंसाका कारण राष्ट्रपति डोनाल्ड ट्रम्प चिन्तित बनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकाको पोर्टल्याण्डमा भएको पछिल्लो हिंसालाई लिएर ट्रम्प र उनका डेमोक्र्याटिक प्रतिद्वन्दी जो बाइडेनबिच वाक–युद्ध चलेको छ ।

जो बाइडेनले पोर्टल्याण्डसहित देशका विभिन्न स्थानमा हिंसा बढ्नुमा ट्रम्प कारक रहेको बताएका छन् । ट्रम्पले परिणामको विचारै नगरी हिंसालाई बढावा दिएको बाइडेनको आरोप छ ।

हिंसालाई प्रतिद्धन्दीले आगामी चुनावी एजेन्डा बनाउने प्रयास गरेको आरोप ट्रम्पको छ । ओरिकगन राज्यको पोर्टल्याण्डमा रंगभेदविरुद्ध प्रदर्शन गरेका ब्ल्याक लाइभ्स म्याटरका प्रदर्शनकारी र ट्रम्पका समर्थकबिच शनिबारराति झडप भएको थियो । त्यसक्रममा गोली चल्दा एकजनाको ज्यान गएको छ ।

ट्रम्पले भने पोर्टल्याण्डका डेमोक्र्याटिक मेयर टेड ह्वीलरलाई आफ्ना शहरमा हिंसा र हत्यालाई स्वीकृति दिएको आरोप लगाएका छन् ।

गएको मे २५ मा मिनेशोटाको मिनियापोलिसमा प्रहरी ज्यादतीका कारण निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडको निधन भएपछि अमेरिकाभर प्रहरी ज्यादती र रंगभेदविरुद्ध आन्दोलन हुँदै आएको छ । ओरिगनको पोर्टल्याण्ड शहरसो आन्दोलनको केन्द्र बन्दै आएको छ ।

राष्ट्रपति ट्रम्पले आइतबार शृङ्खलाबद्ध ट्वीट गरेर पोर्टल्याण्डका ‘मुर्ख’ मेयरका कारण हिंसा भड्किएको आरोप लगाएका हुन् । उनले पोर्टल्याण्डमा संघीय सुरक्षाकर्मी पठाउने पनि उल्लेख गरेका छन् ।

बाइडेनले वक्तव्य जारी गरेर भनेका छन्, ‘ट्रम्पले कानून र कानूनी व्यवस्थाका बारेमा ट्वीट गरेर उनलाई शक्तिशाली बनाउने कुरामा विश्वास गरेका हुन सक्छन्, तर आफ्ना समर्थकहरुलाई हिंसाको मार्ग नअपनाउन अपिल गर्न उनले सकेका छैनन् र यसले नै उनी कति कमजोर छन् भन्ने स्पष्ट हुन्छ।’

आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरिरहेका ट्रम्पले ‘ल एण्ड अडर’ लाई प्रमुख मुद्दा बनाएका छन् । उनले डेमोक्र्याट र उनीहरुका उम्मेदवार जो बाइडेनलाई अपराधप्रति नमर रहेको भनि आरोप लगाउने वा सो रुपमा प्रस्तुत गर्ने प्रयास गर्दै आएका छन् ।

पोर्टल्याण्डका मेयर ह्वीलरले ट्रम्पको आरोप अस्वीकार गर्दै देशमा विभाजन र घृणा भावको सिर्जना गर्ने व्यक्ति अरु कोही नभएर राष्ट्रपति स्वयम रहेको बताएका छन् ।

Loading...