स्वदेश फर्किन आग्रह गर्दै मेस्सीलाई अर्जेन्टिनाका राष्ट्रपतिको सन्देश

एजेन्सी, १५ भदौ । अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले लियोनल मेस्सीलाई स्वदेश फर्किन आग्रह गर्दै सन्देश पठाएका छन् ।

बार्सिलोना छोड्ने निर्णय गरेका कप्तान मेस्सीलाई सन्देश पठाउँदै राष्ट्रपति फर्नान्डेजले स्वदेश फर्किएर अर्जेन्टिनी क्लब नेवेल्स ओल्ड ब्वाइजबाट खेल्न आग्रह गरेका हुन् ।

नेवेल्स ओल्ड ब्वाइज त्यही क्लब हो, जसबाट मेस्सीले आफ्नो फुटबल करिअर सुरु गरेका थिए । उनले सन् १९९४ देखि २००० सम्म त्यहाँ खेल्दै स्पेनिस क्लब बार्सिलोनाबाट खेल्न थालेका थिए ।

तीन वर्ष बार्सिलोनाको युथ क्लबबाट खेलेका उनले सन् २००४ देखि बार्सिलोनाको सिनियर क्लबबाट खेल्दै आइरहेका छन् ।

तर, अब भने उनी बार्सिलोनाबाट बिदा हुन चाहन्छन् । ३३ वर्षीय मेस्सीले गत मंगलबार साँझ मात्र क्लब छोड्ने जानकारी बार्सिलोनालाई गराइसकेका छन् ।

मेस्सीले बार्सिलोनाबाट निरन्तरता नदिने भन्दै यसै समरमा क्लब छोड्ने वातावरण मिलाइदिन बोर्डसँग प्रस्ताव राखेका थिए ।

तथापि, बार्सिलोनाले भने उनको प्रस्ताव अस्वीकार गरेको जनाइएको छ । तर, प्रि–सिजनको तयारीमा रहेको बार्सिलोनाले खेलाडीको कोरोना परीक्षण गर्दा मेस्सी अनुपस्थित हुनुले पनि उनले क्लब छोड्ने सम्भावना बढेको देखिएको छ ।

बार्सिलोना छोड्न लागेका उनलाई इंग्लिस क्लब म्यानचेसटर सिटीलगायत, युरोपका शीर्ष क्लबहरूको नजर छ । तर, अर्जेन्टिनी राष्ट्रपति फर्नान्डेजले भने मेस्सीलाई पूर्वक्लब नेवेल्स फर्किन आग्रह गरेका छन् ।

यता, समर्थकहरूले पनि मेस्सीलाई स्वदेश फर्किन आग्रह गर्दै प्रदर्शन गरेका थिए । अर्जेन्टिनाको ठूलो शहर रोजारियोको सडकमा नेवेल्सका समर्थकहरूले मेस्सीलाई पूर्वक्लब फर्किन भन्दै प्रर्दशन गरेका हुन् ।

यस्तैमा राष्ट्रपति फर्नान्डेसले पनि मेस्सीलाई स्वदेश फर्किन आग्रह गरेका हुन् ।

‘तपाईं हाम्रो हृदयमा हुनुहुन्छ र हामीले तपाईंलाई कहिल्यै पनि अर्जेन्टिनामा खेल्दै गरेको देखेको छैनौं, फनान्डेजले ‘सीफाइभएन’मार्फत मेस्सीलाई सन्देश पठाउँदै भने ।

‘तपाईंले युवा छँदा खेलेको क्लब नेवेल्स ओल्ड ब्वाइज क्लबबाट नै तपाईंको फुटबल करिअर सक्नुहुनेछ भन्ने आशा छ,’ उनले भनेका छन् ।

Loading...