सीमा क्षेत्रका युनिट इन्चार्जलाई एसपी खड्काको निर्देशन, ‘अनुचित लाभ नलिनू, कोरोना नियन्त्रणमा भूमिका खेल्नू’

विराटनगर, १५ भदौ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले सीमावर्ती क्षेत्रका प्रहरी युनिट इन्चार्जहरुलाई आवश्यक निर्देशन दिएका छन् ।

उनले भारतसँग सीमा जोडिएका युनिट इन्चार्जहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा बोलाएर आइतबार निर्देशन दिएका हुन् । उनले काम कारबाहीका क्रममा कोहीसँग कुनै पनि लाभ नलिन र सम्झौता नगर्न सुझाव दिएका छन् । ‘प्रहरीले आर्थिक वा कुनै पनि खालको लाभ लिनु हुँदैन,’ निर्देशन दिँदै खड्काले भने, ‘अनुचित लाभ लिएर फाइदा उठाउन खोजेको पाइएमा तत्काल कारबाहीको दायरामा ल्याइने छ ।’

प्रहरी संगठनको आचरण विपरित गतिविधी गर्ने र विभिन्न तवरबाट लाभ लिने प्रहरीले कारबाहीको भागिदार बन्न तयार हुनुु पर्ने उनले स्पष्ट पारेका छन् । फाइदा उठाउन खोज्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याइसकेपछि मात्रै अरु कुराको सुनुवाई हुने भएकाले यस्ता विषयमा सचेत रहन उनले सबैलाई चेतावनी दिएका हुन् । त्यस्तै प्रहरीले प्रवाह गर्ने सेवामा कुनै पनि कन्जुस्याइँ नगर्न र सेवा प्रवाहका क्रममा नागरिक मैत्री व्यवहार देखाउन पनि निर्देशन दिए । नागरिक–प्रहरी सम्बन्ध सुधारलाई ख्याल गर्दै अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्नु पर्नेमा उनको जोड छ ।

त्यस्तै सीमा क्षेत्रमा हुने विभिन्न खाले अपराध, लागुऔषधको ओसारपसार एवं कारोबार, साना हतियारको ओसारपसार, सीमा अपराध, मानव बेचबिखन र तस्करी नियन्त्रणमा कुनै पनि कसर बाँकी नराख्न उनले सबै युनिट इन्चार्जहरुलाई निर्देशन दिएका छन् ।

उनले कोही कसैको दबाब र प्रभावमा परेर अपराधलाई बढवा तथा अपराधीलाई उन्मुक्ती दिने खालका गतिविधी गर्न नहुने सुझाव पनि दिएका छन् । ‘प्रहरी भएर कुनै पनि खालका सामाजिक हीत विपरीतका गतिविधीलाई प्रसय दिन हुँदैन,’ उनले भने, ‘अपराध नियन्त्रण र अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल्दै समाजमा प्रहरीको छवि उच्च बनाउन लाग्नु पर्ने हाम्रो कर्तव्य हो ।’

शून्य सहनसिलता, शान्त समाज निर्माण प्रहरीको मूलमन्त्र भएकाले त्यसलाई आत्मासात गर्दै अघि बढ्न एसपी खड्काले निर्देशन दिएका छन् । उनले कुनै पनि दबाब र प्रभावमा नपरिकन निष्पक्ष र पारदर्शी रुपमा प्रहरीले आफ्नो कार्य सम्पादन गर्नु पर्नेमा जोड दिएका छन् । ‘यदि गलत कुरामा तपाईहरुलाई कोही कसैबाट अनआवश्यक दबाब आउँछ भने त्यसलाई नसुनिकन तत्काल मलाई खबर गर्नु हो,’ खड्काले भने, ‘तर दबाबका भरमा अपराधलाई प्रसय दिने काम भयो भने कसैलाई पनि उन्मुक्ती मिल्ने छैन ।’

जिल्लाभर कार्यरत प्रहरीको अभिभावकका रुपमा आफू रहेकाले कुनै समस्या पर्दा तत्काल जानकारी गराउन उनले भनेका छन् । प्रहरीको बद्नाम हुने काम तत्काल सबैले रोक्नु पर्नेभन्दै बर्दी र बन्दुकको दम्भ देखाएर सर्वसाधारणमा त्रास सिर्जना गर्न नहुने तथा नागरिक मैत्री व्यवहारलाई जोड दिनु पर्ने सुझाव उनको छ ।

खड्काले महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको नियन्त्रण र रोकथामका लागि सबै पक्षसँग समन्वय गरेर आवश्यक भूमिका खेल्न पनि निर्देशन दिएका छन् । ‘भारत लगायत अन्यत्रबाट अवैध रुपमा नेपाल छिर्न खोज्नेहरुलाई रोक्न थप प्रभावकारी कदम चाल्नू,’ उनले भने, ‘लापरबाहीपूर्ण रुपमा आउजाउ हुन दिन र सीमा नाकामा कडाई नगरिकन रमिते भएर बस्न प्रहरीलाई छुट छैन ।’

राम्रा काम गर्ने प्रहरीलाई पुरस्कृत गर्दै हौसला प्रदान र गलत गर्ने प्रहरीलाई तत्काल कारबाही गरिने हुँदा उनले संगठनको मर्म र भावनामा आँच आउने तथा मर्यादाविपरीत कार्य नगर्न सबै प्रहरी अधिकारीलाई सुझाएका छन् ।

Loading...