कतारमा करार नसकिँदै श्रमिकलाई काम फेर्न बाटो खुल्यो

विराटनगर, १५ भदौ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक कतारमा श्रमिकलाई काम फेर्नका लागि यसअघि लगाइएका विभिन्न बाध्यकारी नियम र झन्झटहरु हटाइएको छ ।

ती नियमहरु हटाइएपछि अब कतारमा श्रम गर्न जानेलाई करार अवधि नसकिँदै काम फेर्न बाटो खुलेको छ । जसका कारण श्रम गर्न कतार पुगेका नेपाली श्रमिकलाई सबैभन्दा बढी फाइदा पुग्ने देखिएको छ । यसअघि श्रमिकले काम परिवर्तन गर्दा रोजगारदाताको अनुमति लिनुपर्ने नियम थियो । अब त्यो नियम खारेज भएको छ ।

अब श्रमिकले चाहेमा एक वा दुई महिनाअघि पूर्व सूचना दिएर करार अवधिभन्दा अघि नै पनि बिना अवरोध रोजगारदाता परिवर्तन गर्न सक्नेछन् । कतारको श्रम कानुन अनुसार श्रमिकहरु रोजगारदाताको अनुमति बिना नै स्वदेश फर्कन पनि सक्ने छन् । कतार सरकारको यो निर्णयले श्रमिक र रोजगारदाता दुवैलाई फाइदा पुग्ने विश्वास लिइएको छ । श्रमिकले रोजगारदाता परिवर्तन गर्न पाउँदा रोजगारदाताले पनि आफ्नो काममा उपयुक्त श्रमिक छान्न पाउने भएका छन् ।

कतारले न्यूनतम ज्याला तोक्दै श्रमिकको पारिश्रमिक कम्तिमा एक हजार कतारी रियाल बनाएको छ । आइतबार कतारको श्रम तथा सामाजिक विकास मन्त्रालयले श्रमिकको न्यूनतम ज्याला तोक्दै काम परिवर्तन गर्न चाहने श्रमिकको करार अवधि सकिएको हुनु पर्ने नियम हटाएको अलजजिराले उल्लेख गरेको छ । यसअघि करार सम्झौतामा उल्लेख गरे पनि नदिने गरिएकोमा अब भने श्रमिकले न्यूनतम पारिश्रमिकसँगै पाँच सय कतारी रियाल बस्नका लागि र तीन सय रियाल खानका लागि पाउने छन् ।

नयाँ नियम बनाइएको कतारमा श्रमिकले काम गरे वापत र खान तथा बस्नका लागि अब एक हजार आठ सय रुपैयाँ पाउने भएका छन् ।

न्यूनतम पारिश्रमको नियम कतारको राजपत्रमा प्रकाशित भएको ६ महिनापछि कार्यान्वयनमा आउने भएको छ । कतार सरकारको यो निर्णयको अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओले पनि स्वागत गरेको छ । यसले श्रमिकलाई सबैभन्दा बढी फाइदा पुग्ने भन्दै यसलाई कतार सरकारको महत्वपूर्ण निर्णय भनेर आइएलओले स्वागत गरेको हो ।

कतारले सन् २०२२ को विश्वकप आयोजना गर्ने भएको छ । त्यही भएर आप्रवासी श्रमिकमाथि लगाएका विभिन्न नियमहरु परिवर्तन र खारेज गरिएको बताइएको छ ।

यसअघि कफाला नियमले श्रमिकलाई श्रम शोषणमा पारेको थियो । तर कतारले पछिल्लो समय गरेको यी निर्णयले कफाला प्रणालीले गरिरहेको शोषणको अन्त्य हुने विश्वास लिइएको छ ।

Loading...