Rumpum

Rumpum Advertisement

सामाजिक सञ्जालमा भिडियो हेरेर बालिका पूजामा उर्लियो भीड

सामाजिक सञ्जालमा भिडियो हेरेर बालिका पूजामा उर्लियो भीड

विराटनगर, १५ भदौ । १३ वर्षीया मुनचुनकुमारी दासलाई उनकी आमाले बिहान सबेरै उठाउँछिन्।

नुहाएर सफा कपडा लगाइदिएपछि नास्ता खुवाउँछिन्। त्यसपछि बिहान ७ बजे नजिकै ठाकुर बाबाको मन्दिरमा लगेर राख्छिन्। यो घटना सप्तरीस्थित दक्षिण–पश्चिमको बलान बिहुल गाउँपालिका–६ रौतहटको हो। प्राचीनकालका राजा ठाकुर बाबा नुहाउने भनिएको बडकी (ठूलो) पोखरीछेउ निर्मित मन्दिरमा सप्तरी र सिरहाका गाउँबाट भीड उर्लिन थालेको छ। उनीहरू देवीस्वरूप मानेर ती बालिकालाई ढोग्छन्। सबैले गच्छेअनुसार पैसा चढाउँछन्।

बालिकाका आफन्तले जिम्मेवारी बाँडफाँट गरेका छन्। जसअनुसार दर्शनार्थीलाई प्रसाद वितरणको जिम्मा सिरहाको महेशपुरबाट आएकी फुपू सागैरदेवीले पाएकी छन्। भीड कम भएका बेला दिउँसो १–२ बजे बालिकालाई घर पु¥याएर खाना खुवाइन्छ। पुनः नुहाएर कपडा फेराई बेलुका ७ बजेसम्म मन्दिरमै राखिन्छ।

कोरोना भाइरस फैलिएका बेला राजविराजबाट ३५ किलोमिटर दूरीमा रहेको रौतहट गाउँमा तीन दिनदेखि यही प्रक्रिया चलिरहेको छ। स्थानीय परशुराम महरानले बालिकाको दर्शन गर्न दर्जनौं गाउँबाट सयौं संख्यामा दर्शनार्थी आउने क्रम बढिरहेको बताए। सहभागी केहीले मात्र मास्क लगाएका छन्।

गाउँपालिका अध्यक्ष दयानन्द गोइतले जनभावनालाई कदर गरी दैवी शक्तिमाथि विश्वास गर्दै पूजा गर्न दिइएको बताए। भीडलाई व्यवस्थित गर्न सहयोग गरिरहेको उनको भनाइ छ। बढ्दो भीड कोरोना ‘बम’ बन्ने जोखिम देखिएको सशस्त्रका इन्स्पेक्टर लाल खड्काको चिन्ता छ। उनका अनुसार जनप्रतिनिधिले अवरोध नगर्न भनेकाले भौतिक दूरी बनाएर दर्शन गर्न आग्रह मात्र गरिएको छ।

पुजारी लुचाई दासले दुई साताअघि देखेको सपनाअनुसार बुधबार मन्दिर परिसरमा भण्डारा (भोज) गर्न लागिएको स्थानीय दिनेश्वर यादवले बताए। उनका अनुसार भोजका लागि गाउँबाट दाल, चामल, आलु संकलन सुरु गरिएको छ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले मास्क लगाउन र दूरी कायम गर्न प्रहरी खटाउनुपर्ने अवस्था चिन्ताजनक रहेको बताए। निषेधाज्ञा कार्यान्वयनमा सबैको प्रतिबद्धता र सहयोग चाहिने उनको भनाइ छ।

मुनचुन एक दिन घाँस काटेर साथीहरूसँग घर फर्किंदै थिइन्। ‘कमलको फूल टिप्न पोखरीमा पसेकी उनी डुबेर बेपत्ता भएको ७ घण्टापछि जीवितै फर्किएको’ भनेर स्थानीय युवाले सामाजिक सञ्जालमा प्रचार गरे। त्यसपछि दैवी शक्तिको चमत्कार भन्दै दर्शन गर्न भीड बढेको हो।

मुनचुन बिहीबार साँझ ५ बजे फूल टिप्न पोखरीमा गएकी थिइन्। केही बेरपछि फर्केर हेर्दा नदेख्दा उनी डुबेको अनुमान लगाउँदै साथीहरूले गाउँलेलाई खबर गरे। घटनास्थल पुगेको प्रहरी चौकी रामनगर कोदरकट्टीका असइ रामविनय सिंह र बोर्डर आउट पोस्ट रामनगरका इन्स्पेक्टर लाल खड्काको टोलीले गाउँलेलाई पोखरीभित्र ३ घण्टा खोज्न लगाउँदा पनि बालिका भेटिइनन्। त्यसपछि बिहान गोताखोर ल्याएर खोजी गर्ने सल्लाहबमोजिम फर्किएको असइ सिंहले बताए।

गाउँले पनि घर फर्किए तर परिवारका सदस्य भाकल गरेर मन्दिरमै बसे। मध्यरात १२ः२० बजे ‘ममी, ममी’ भनेको आवाज सुनियो। मोटरसाइकलको प्रकाशमा पोखरी किनारको रुखमुनि बालिकालाई रोइरहेको फेला पारिएको उनकी आमा पुनिताले बताइन्। डुब्दै गरेको र पोखरीबाट निक्लिँदै गरेको भने कसैले देखेनन्।

बालिकाले एकपछि अर्को सुन्दर फूलतर्फ आकर्षित हुँदै भित्र पुगेको तर त्यहाँ पानी नरहेको बताइन्। पोखरीभित्र फेला परेका बाबाले ३–४ दिन यतै बस्नु भने पनि आफू रोइकराइ बिन्ती गरेपछि बाहिर आइपुगेको बालिकाले बताइन्। यो सुनेपछि सबैले चमत्कार मान्दै दैवीशक्ति भनेर पूजा सुरु गरे। आजको अन्नपूर्ण पोस्टमा समाचार छ