निषेधाज्ञामै झन् संक्रमण

विराटनगर, १५ भदौ । काठमाडौंसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो छ।

पछिल्लो २४ घण्टामा आइतबार १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यकामा मात्रै भदौ ३ गते राति लगाइएको निषेधाज्ञाबीच आइतबार सर्वाधिक ४ सय २९ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ३ सय ७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जनामा कोरोना देखिएको बताए।

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी भन्छन्, ‘कोरोना भाइरसको इन्कुबेसन पिरियड लक्षण देखिने समय १४ दिन हो। यो संक्रमण काठमाडौंमा निषेधाज्ञा घोषणाअघिको हो। १४ दिनअघि शरीरमा भाइरस प्रवेश गरेकाहरूमा लक्षण देखिने बेला नै यही हो। कतिपयलाई सातै दिनमा लक्षण देखिन्छ। कतिपयलाई १४ दिनसम्म पनि देखिन सक्छ।’

संक्रमितको स्वाब संकलन गरिएको १० दिनपछि पीसीआर जाँच गरिन्छ। रिपोर्ट नेगेटिभ आए डिस्चार्ज गर्ने र पोजिटिभ भए थप चार दिनपछि जाँच नगरी पनि डिस्चार्ज गर्न सकिने विश्व स्वास्थ्य संगठनको प्रोटोकल हो।

चलायमान उमेरमा बढी संक्रमण

दैनिक कामकाजका लागि चलायनमान बन्नुपर्ने समूहमा कोरोना संक्रमण निकै बढेको पाइन्छ। काठमाडौं उपत्यकासँगै मुलुकभर आइतबार संक्रमितको संख्या वृद्धि भएपछि चिन्ता पनि थपिएको छ।

काठमाडौं उपत्यकाका साथै मोरङ, धनुषा, बारा, पर्सा, महोत्तरी, रौेतहट, सर्लाही, चितवन र रूपन्देही गरी १२ जिल्लामा संक्रमित बढी देखिएका छन्। यी जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित उपचाररत रहेको प्रवक्ता गौतमले बताए।

२१ देखि ५० वर्ष उमेरको चलायमान समूहमा संक्रमण वृद्धि भएको मन्त्रालयले जनाएको छ। आईसीयूमा प्रदेश १ मा १७, प्रदेश २ मा ३८, बागमतीमा ७०, गण्डकीमा ३ र प्रदेश ५ मा १६ गरी १ सय ४४ जना छन्। त्यस्तै भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या प्रदेश १ मा ३, बागमतीमा १२, प्रदेश ५ मा २ गरी १७ छ।

कोरोेनाबाट मृत्यु हुनेहरू ४१ देखि ५० वर्ष उमेरसमूहमा बढी देखिन्छ। संक्रमणबाट मृत्यु हुने महिला सबैभन्दा बढी ६१ देखि ७० वर्ष उमेरका छन्। आजको अन्नपूर्ण पोस्टमा समाचार छ

Loading...