बार्सिलोनाबाट खेल्ने डिपेको चाहना

एजेन्सी, १४ भदौ । लियोनका कप्तान मेम्फिस डिपेले बार्सिलोनाबाट खेल्ने चाहना ब्यक्त गरेका छन् । हालै एक अन्तर्वार्ताका क्रममा डिपेले बार्सिलोना जस्तो ठूलो क्लबबाट खेल्ने आफ्नो सपना रहेको सुनाए ।

बार्सिलोनाका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोइम्यानले पनि आफ्नो देशका स्टार डिपे अनुबन्ध गर्न चाहेको बताइन्छ । कोइम्यानले डच फुटबलर डिपेलाई उरुग्वेका स्टार लुइस स्वारेजको स्थानमा भित्र्याउन खोजेको जनाइएको छ ।

कोइम्यानले स्वारेजलाई आफ्नो टिममा नराख्ने जनाइसकेका छन् । र, उनको स्थानमा डिपे ल्याउन सक्ने सम्भावना पनि बढेको बताइन्छ ।

डिपे र लियोनबीचको सम्झौता २०२१ सम्म रहेको छ । फ्रेन्च क्लब लियोनले पनि उनको मूल्य ५५ मिलियन युरो तोकिसकेको छ ।

शुक्रबार लिग वानअन्तर्गत डिजोनमाथि ४–१ गोलको जित निकाल्दा ह्याट्रिक गरेका डिपेले खेलपछि पत्रकारसँग बोल्दै भने, ‘म ध्यान अहिले लियोनतिर छ । लिग वानमा फर्किन पाउँदा खुशी छु । मैले हालसम्म कोइम्यानसँग कुरा कोइम्यानसँग कुरा गरेको छैन । तर, बार्सिलोना जस्ता ठूला क्लबको बारेमा म सपना देख्छु ।’

‘हेरौं अबका दिनमा के हुन्छ तर, अहिले म यहाँ छु । कोइम्यान र मेरो सम्बन्ध राम्रो छ । र, अब उहाँ बार्सिलोनाको प्रमुख प्रशिक्षक बन्नु भएको छ’, उनले थपे ।

Loading...