Rumpum

Rumpum Advertisement

कोशी अस्पतालमा ४० बेडको आइसोलेशन खाली, विराटनगरका संक्रमित घरमै

कोशी अस्पतालमा ४० बेडको आइसोलेशन खाली, विराटनगरका संक्रमित घरमै

विराटनगर, १४ भदौ । कोशी अस्पताल विराटनगरले ४० बेडको आइसोलेशन सञ्चालनमा ल्याएको छ ।

कोरोना संक्रमण पुष्टि भएकाहरूलाई राख्नका लागि अस्पतालले ४० बेडको आइसोलेशन सञ्चालनमा ल्याएको हो । बच्चा वाडमा सञ्चालनमा ल्याएको आइसोलेशनमा दुई जना अस्पतालका कर्मचारी बसिरहेका छन् ।

४० बेडको आइसोलेसन सञ्चालनमा ल्याएपनि सर्बसाधारणलाई भने नराखिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।

अस्पतालले शंकास्पद बिरामीलाई राख्ने आइसोलेशन सेन्टर गत चैतदेखि सञ्चालनमा छ ।

अस्पतालले बनाएको ४० बेडको आइसोलेशनमा भने कर्मचारीलाई मात्रै राखिने डाक्टर दासले बताए ।

‘अस्पतालका कर्मचारीका लागि आइसोलेशन बेड सञ्चालन गरेका छौं,’ उनले भने, ‘सर्वसाधारणको व्यवस्थापन महानगर र प्रदेश सरकारले गर्दै आएको छ ।’

विराटनगरमा संक्रमण पुष्टि भएका एक हजार नौ जनामध्ये ६०६ जना घरमै बस्न बाध्य छन् । तर आइसोलेशन सुरु गरेको सरकारी अस्पतालले भने सर्वसाधरणलाई भर्ना गरेर उपचार गर्न नसक्ने बताएको छ ।

‘लक्षण देखिएका संक्रमितलाई कोभिड १९ उपचार केन्द्र छ,’ उनले भने, ‘धेरै संक्रमित होम आइसोलेशनमा हुनुहुन्छ । यहाँ राख्दा उपचार गर्ने जनशक्ति पनि छैन ।’

डाक्टर दासका अनुसार कोशी अस्पतालमा कार्यरत कर्मचारीमध्ये हालसम्म २२ जनालाई कोरोना संक्रमण देखिएको छ । तीमध्ये अधिकांश संक्रमित संक्रमणमुक्त भएका छन् ।