स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही

काठमाडाैं, १४ भदाै । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोभिड–१९ सँग लड्ने स्वास्थ्यकर्मीमाथि कतै कुनै पनि प्रकारको दुर्व्यवहार गर्नेलाई कारवाही गर्ने बताएका छन् ।

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) ले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।

उनले भने, “स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने प्रयास जस्तो कार्य अपराध हो, त्यस्तो व्यवहार कदापि सहन गर्न सकिदैन”, उनले भने, “यस्ता कार्य गर्नेलाई पहिले थुन्ने र त्यसपछि कुरा सुन्ने आदेश जारी भइसकेको छ ।”

कोभिड–१९ सँग लड्ने हतियारका रुपमा देशभरका स्वास्थ्यकर्मीमाथि पटक–पटक भै रहेको दुर्व्यवहारले मुलुकलाई नै प्रभावित पार्न सक्ने हुँदा यस्ता आदेश गर्न बाध्य भएको प्रमुख जिल्ला अधिकारी दाहालको भनाइ थियो ।

उनले स्वास्थ्यकर्मीले जुनसुकै अवस्थामा पनि आफूहरू काम गर्न तयार रहेको तर समाज, काम गर्ने संस्था र घर परिवारबाट समेत बेलाबेलामा हुने व्यवहारले आहात हुने गरेको उल्लेख गरे ।

कोभिड–१९ बाट पीडित जो सुकैलाई पनि निःशुल्क रुपमा उपचार दिने, परीक्षण गराउने, स्वास्थ्यकर्मीलाई चाहिने मास्क र पिपिईजस्ता सामग्री दिने निर्वाध रुपमा उपलब्ध गराउने जिम्मा सरकारको भएको हुँदा व्यवस्थापन मिलाउन आफू तयार रहेको उनको भनाइ थियो । रासस

Loading...