विराटनगरमा संक्रमितको संख्या हजार नाघ्यो, एउटै वडामा १२६ संक्रमित, ११ जनाको मृत्यु

विराटनगर, १४ भदौ । विराटनगरमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ ।

समुदायस्तरमा संक्रमण फैलिएको विराटनगरमा आइतबार थप ३५ जना कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार नाघेको विराटनगर महानगरपालिकाले जनाएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्याङकमा आइतबार विराटनगरमा ४२ संक्रमित थपिएका छन् । महानगरको रेकर्डमा भने ३५ जना मात्र थपिएको उल्लेख छ ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार आइतबारसम्म विराटनगरमा कोरोना संक्रमितको संख्या एक हजार नौ पुगेको छ ।

तीमध्ये ३८९ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । संक्रमणबाट विराटनगरमा ११ जनाको मृत्यु भइसकेको छ । तर विराटनगर महानगरपालिकाको तथ्यांकमा भने नौं जनाको मात्र मृत्यु भएको उल्लेख छ ।

कुन वडामा कतिको मृत्यु ?

विराटनगर महानगरपालिका वडा नम्बर ८, ९ र १५ मा दुई–दुईजना संक्रमितको मृत्यु भएको छ । विराटनगर २, ३, ५ ,६ र १० मा एक–एक जनाको मृत्यु भएको छ ।

विराटनगरमा पहिलो पटक कोरोना संक्रमणका कारण १९ साउनमा विराटनगर–५ का ७७ वर्षीय वृद्धको मृत्यु भएको थियो ।

मृत्यु भएका ११ मध्ये अधिकांशमा दीर्घरोगको समस्या थियो । विराटनगर–१५ का ३० वर्षीय युवक, विराटनगर १५ घर भइ विराटनगर–११ माइते बस्दै आएकी ४४ वर्षीया महिला र कटहरी स्थायी घर भई लामो समयदेखि विराटनगर ८ बस्दै आएका एक पुरुषमा दीर्घरोग देखिएको थिएन ।

कुन वडामा कति संक्रमित ?

विराटनगर महानगरपालिकामा–१९ वडा छन् । तीमध्ये वडा नम्बर १९ मा आजसम्म संक्रमण देखिएको छैन । दुईवटा वडामा संक्रमितको संख्या एकसय माथि छ । वडा नम्बर १२ कोरोना संक्रमितको संख्या १२६ जना छन् । वडा नम्बर ६ मा १०५ जना छन् ।

महानगरपालिकाका अनुसार विराटनगर– १ मा ३१ जना संक्रमित छन् । विराटनगर– २ मा ६४ जना, ३ मा ६९ जना, ४ मा ३४ जना, ५ मा ५७ जना कोरोना संक्रमित छन् ।

विराटनगर–६ मा १०५ जना, ७ मा ४५ जना, ८ मा ७९ जना, ९ मा ७७ जना, १० मा ३७ जना कोरोना संक्रमित छन् ।

त्यस्तै वडा नम्बर ११ मा ६८ जना, १२ मा १२६ जना, १३ मा २२ जना, १४ मा १९ जना, १५ मा ५४ जना, १६ मा २८ जना, १७ मा २६ जना, १८ मा ४ जना कोरोना संक्रमित छन् ।

वडा नम्बर १९ मा संक्रमण शून्य छ । १८ वडाका संक्रमितमध्ये ११३ जनासंक्रमण मुक्त भएका छन् ।

होम आइसोलेशनमा ६०६ जना

विराटनगरमा कोरोना संक्रमितमध्ये अधिकांश होम आइसोलेशनमा छन् । महानगरको तथ्यांकअनुसार आइतबारसम्म ६०६ जना संक्रमित होम आइसोलेशनमा बसेका हुन् ।

होम आइसोलेशनमा बसेकामध्ये २५० महिला र ३५६ पुरुष छन् । विराटनगरको प्राथमिक स्वास्थ्य चौकी होल्डिङ आइसोलेशनमा २२, काली सेवा सदनमा ४३, मारवाडी सेवा सदनमा ३५ जना बसिरहेका छन् ।

Loading...