सीपीएलमा सन्दीपको प्रदर्शन उत्कृष्ट

सीपीएलमा सन्दीपको प्रदर्शन उत्कृष्ट

विराटनगर, १४ भदौ । क्यारेबियन प्रिमियर लिग (सिपिएल)का लिग चरणका १८ खेल सकिँदा नेपाली राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछानेले उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । जमैका तलावाजबाट खेलिरहेका सन्दीपको प्रदर्शन उत्कृष्ट भइरहेको छ ।

ब्रायन लारा स्टेडियम र क्विन्स पार्क ओभल दुवै पिच सहयोगी हुँदा स्पिनर हाबी बन्दै आएका छन् । अफगानिस्तानका स्टार स्पीनर राशिद खानले भने आशा र अपेक्षाअनुसार प्रर्दशन गर्नसकेका छैनन् । बार्बाडोस ट्राइडेन्ट्सबाट सिपिएल खेलिरहेका राशिदभन्दा उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा अगाडि छन् ।

सन्दीपले ६ खेलमा २४ ओभर बलिङ गर्दै १ सय १६ रन खर्चेर ९ विकेट लिएका छन् । इकोनमी रेट ४.८३ र उत्कृष्ट प्रर्दशन २–८ छ । राशिदले ६ खेलमा २१ ओभर बलिङ गर्दै १ मेडन सहित १ सय ५६ रन खर्चेर ८ विकेट लिएका छन् । इकोनमी रेट ७.४२ र उत्कृष्ट प्रर्दशन २–२४ छ । राशिदको भन्दा सन्दीपको इकोनमी रेट पनि उत्कृष्ट छ ।

सर्वाधिक विकेट लिने सूचिमा जमैका स्पिनर मुजिब उर रहमान छन् । सन्दीपकै टोली जमैकाबाट खेलिरहेका रहमानले ६ खेलमा २४ ओभर बलिङ गर्दै १ मेडन सहित ९३ रन खर्चेर १३ विकेट लिएका छन् । इकोनमी रेट ३.८७ को रहँदा उत्कृष्ट प्रर्दशन ३–११ छ ।

काइरन पोलार्ड कप्तान रहेको ट्रीनबेगो नाइट राइडर्स जारी सीपीएलको एकमात्र अपराजित टोली हो । राइडर्स सुरुआती ६ खेलमा जितसहित १२ अंक जोड्दै शीर्ष स्थानमा छ । जौक्स ४ मा जित र २ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ । जमैका समान ३ मा जित र हारसहित ६ अंक जोड्दै तेस्रो स्थानमा छ ।

बार्बाडोस ४ मा हार र २ मा जितसहित चौथो स्थानमा छ । गुयना पनि ४ हार र २ जितसहित पाँचौ स्थानमा छ । पुछारमा रहेको सेन्ट किट्सले ६ खेलमा ५ मा हार र १ मा जित बेहोरेको छ ।