मेस्सी र बार्सिलोनाबीच विवाद बढ्ने संकेत, ला लिगा पनि बार्सिलोनाको पक्षमा

एजेन्सी, १४ भदौ । बार्सिलोना र कप्तान लियोनल मेस्सीबीचको विवाद बढ्न सक्ने देखिएको छ । ला लिगाले पनि बार्सिलोनालाई नै समर्थन गरेपछि पछिल्लो समय क्लब छोड्ने अडान लिएका अर्जेन्टिनी स्टार मेस्सी र बार्सिलोनाबीच विवाद बढ्ने संकेत देखिएको हो ।

३३ वर्षीय मेस्सीले गत मंगलबार साँझ मात्र क्लब छोड्ने जानकारी बार्सिलोनालाई गराएका थिए । मेस्सीले बार्सिलोनाबाट निरन्तरता नदिने भन्दै यसै समरमा क्लब छोड्ने वातावरण मिलाइदिन बोर्डसँग प्रस्ताव राखेका थिए ।

तथापि, बार्सिलोनाले भने उनको प्रस्ताव अस्वीकार गरेको जनाइएको छ । तर, प्रि–सिजनको तयारीमा रहेको बार्सिलोनाले खेलाडीको कोरोना परीक्षण गर्दा मेस्सी अनुपस्थित हुनुले पनि उनले क्लब छोड्ने सम्भावना बढेको देखिएको छ ।

मेस्सी र बार्सिलोनाबीचको सम्झौता आगामी सिजनमा मात्र सकिन्छ । बार्सिलोना सोहीअनुसार मेस्सीलाई अन्य क्लबले किन्न ७०० मिलियन युरो तिर्नुपर्ने शर्त रहेको मान्छ । यता, ला लिगाले पनि बार्सिलोनालाई नै समर्थन गरेको छ ।

मेस्सीको ७०० मिलियन युरोको रिलिज क्लज कायम रहेकाले अहिले पनि ७०० मिलियन युरोबिना उनले क्लब छाडेर जान नपाउने ला लिगाले जनाएको छ । ला लिगाले आइतबार एक विज्ञप्ति निकाल्दै मेस्सीले क्लब छाड्न चाहेमा क्लबलाई सम्झौताअनुसारको रिलिज क्लज तिर्नुपर्ने बताएको हो ।

ला लिगाको पछिल्लो विज्ञप्तीले मेस्सीले फ्री ट्रान्सफर र बार्सिलोनाको अनुमतिबिना बार्सिलोना छोड्ने नपाउने भएका छन् । तर, ७ सय मिलियन युरो रिलिज क्लज तिर्न सफल भएमा मेस्सीले बार्सिलोनाको सहमतिबिना पनि क्लब छोड्न पाउने छन् ।

Loading...