स्वारेजलाई हटाउँदा बार्सिलोनाले १४ मिलियन युरो तिर्नुपर्ने

एजेन्सी, १४ भदौ । बार्सिलोनाले आफ्ना स्ट्राइकर स्वारेजलाई सम्झौता सकिनुअघि नै हटाएमा १४ मिलियन युरो तिर्नुपर्ने भएको छ । अब एक वर्ष सम्झौता बाँकी रहेका उरुग्वेका स्टार स्वारेजलाई यसै सिजन हटाउँदा बार्सिलोनाले सो रकम तिर्नुपर्ने भएको हो ।

छ वर्षअघि लिभरपुलबाट क्यापन नोउ आएका उनलाई बार्सिलोनाका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोइम्यानले हटाउने चेतावनी दिइसकेका छन् । बार्सिलोनाका पूर्वखेलाडीसमेत रहेका कोइम्यानले स्वारेजलाई आफ्नो योजनामा नरहेको बताउँदै तत्काल विकल्प खोज्न भनेका थिए ।

कोइम्यानले फोन गरेर ६० सेकेण्ड गरेको सो कुराकानीले स्वारेज निकै विचल्लित भएको बताइएको छ । बार्सिलोनाका लागि धेरै गोल गर्ने खेलाडीको सूचिमा तेस्रो स्थानमा रहेका स्वारेजले कोइम्यानका कारण क्लब छोड्ने मनसाय बनाएको बताइएको छ ।

स्वारेजले कोइम्यानको मुखबाट निस्किएका शब्दले आफू निकै दुखित भएको बताउँदै विकल्पको खोजीमा लागेको पनि बताएका छन् । तर, सम्झौताअघि नै उनी निकालिइएमा बार्सिलोनाले १४ मिलियन युरो तिर्नुपर्ने हुन्छ ।

स्वारेजको सम्झौता ३० जुन २०२१ सम्म बार्सिलोनासँग सम्झौता छ । खबरका अनुसार उनीमाथि पाँच क्लबको नजर छ ।

सन् २०१४ मा लिभरपुलबाट बार्सिलोना आएयता उनले २८३ खेल खेल्दै १९८ गोल गरेका छन् । स्वारेजले बार्सिलोनाबाट चार ला लिगा र एक च्याम्पियन्स लिगसहित १३ ठूला उपाधि जितेका छन् ।

Loading...