ट्रम्प समर्थक र विरोधीबीच झडप, एक जनाको मृत्यु

पोर्टल्यान्ड, १४ भदौ । संयुक्तराज्य अमेरिकाको ओरेगन राज्यको पोर्टल्यान्डमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक र विरोधीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार अबेर राति भएकाे साे झडपमा ट्रम्पका एक समर्थकको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार ट्रम्प समर्थकको एउटा जुलुसका समर्थक र अश्वेत आन्दोलनकारीका सदस्यबीच पोर्टल्यान्डको सडकमा झडप भएको थियो ।

आगामी राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई पुनः विजयी गराउन भन्दै करिब ६०० वटा सवारी साधनमा ट्रम्प समर्थकले र्याली निकालेका थिए ।

तर त्यसको विरोधमा “ब्लाक लाइभ्स म्याटर” नामको अश्वेतहरुको अभियानले सडकमा अवरोध गरेको थियो ।

प्रहरीले साँझ ८.३० बजे ट्रम्पका समर्थकहरुले र्याली समाप्त गरेलगत्तै ८.४६ मा गोली चलेको आवाज आएको जनाएको छ ।

गोली चलेलगत्तै प्रहरी घटनास्थलमा पुगेको र घाइतेलाई तत्काल उद्धार गरिए पनि बचाउन नसकिएको पनि प्रहरीले बताएको छ ।

Loading...