Rumpum

Rumpum Advertisement

मेस्सी र रोनाल्डोलाई एकसाथ खेलाउने युभेन्टसको सपना !

मेस्सी र रोनाल्डोलाई एकसाथ खेलाउने युभेन्टसको सपना !

एजेन्सी, १४ भदौ । पछिल्लो समय बार्सिलोना छोड्ने चर्चामा रहेका लियोनल मेस्सीलाई युभेन्टसले अनुबन्ध गर्न चाहेको बताइएको छ ।

क्याप नोउ छोड्ने निर्णय लिएका अर्जेन्टिनी स्टार मेस्सी अनुबन्ध गर्ने दौडमा सिरी ‘ए’ च्याम्पियन क्लब युभेन्टस पनि रहेको स्पेनिस मिडियाले जनाएका छन् ।

स्पेनिस मिडिया एएसका अनुसार मेस्सी र उनको खास प्रतिद्वन्द्वी मानिने पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई एकसाथ खेलाउने युभेन्टसको सपना रहेको छ ।

युभेन्टस आफ्नो टोली थप बलियो बनाउन मेस्सी अनुबन्ध गर्ने योजनामा रहेकाे विभिन्न स्रोतलाई उदृत गर्दै एएसले रहेको जनाएको छ ।

३३ वर्षीय मेस्सीले गत मंगलबार साँझ मात्र क्लब छोड्ने जानकारी बार्सिलोनालाई गराएका थिए । मेस्सीले बार्सिलोनाबाट निरन्तरता नदिने भन्दै यसै समरमा क्लब छोड्ने वातावरण मिलाइदिन बोर्डसँग प्रस्ताव राखेका थिए ।

बार्सिलोनाले भने उनको प्रस्ताव अस्वीकार गरेको जनाइएको छ । तर, प्रि–सिजनको तयारीमा रहेको बार्सिलोनाले खेलाडीको कोरोना परीक्षण गर्दा मेस्सी अनुपस्थित हुनुले पनि उनले क्लब छोड्ने सम्भावना बढेको देखिएको छ ।

विभिन्न रिपोर्टहरूका अनुसार मेस्सीले फ्री–ट्रान्सफरमा क्लब छोड्ने सम्भावना छ । उनलाई लिएर पेप ग्वार्डीओला नेतृत्त्वको टोली म्यानचेस्टर सिटी, इन्टर मिलान तथा पीएसजीले इच्छा देखाएको बताइन्छ । यी तीन क्लबसँगै युभेन्टस पनि यस दौडमा लागेको बताइएको छ ।

यता, फ्रेन्च मिडिया एल–इक्युपेले पनि मेस्सी अनुबन्ध गर्न युभेन्टसले चाहना राखेकाे दाबी गरेकाे छ ।

उसका अनुसार युभेन्टसले मेस्सीको पछिल्लो अवस्थाका बारे जानकारी लिएको थियो । स्रोतलाई उदृत गर्दै एल–इक्युपेले मेस्सी र रोनाल्डोलाई एकसाथ खेलाउने सम्भावना बारे युभेन्टसमा छलफल भएका थियो । शनिबार एल–इक्युपेले यस खबरलाई प्राथमिकताका साथ छापेको छ ।

यद्यपि, युभेन्टसले मेस्सी भित्र्याउने सम्भावना कम छ । यसअघि नै युभेन्टसले महामारीका कारण रोनाल्डोलाई तलब दिन कठिन भएको भन्दै उनलाई किनिदिन बार्सिलोनालगायत केही क्लबलाई आग्रह गरेको बताइएको थियो ।