आठ लाख ८४ हजारजनाको कोरोना बीमा

काठमाडौ, १४ भदौ । बीमा समितिले हालसम्म आठ लाख ४७ हजार नेपालीको कोरोना बीमा भएको बताएको छ ।

बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बीमलेख जारी भएको चार महिनामा आठ लाख ४७ हजार नेपाली नागरिकको कोरोना बीमा भएको बताए । त्यसबापत अहिलेसम्म ४७ करोड रुपैयाँ बीमा प्रिमियम संकलन भएको पनि अध्यक्ष चापागाईंले बताए ।

बीमा समितिले वैशाख ४ गतेदेखि कोरोना भाइरस (कोभिड–१९) बीमालेख जारी गरेको थियो । जसमा सबै निर्जीवन बीमा कम्पनीको बीमा पुलमार्फत् बीमालेख जारी गर्ने व्यवस्था भएकोे थियो ।

समितिले दुई श्रेणीको बीमाङ्क रकम कायम गरी बीमालेख जारी गरेको थियो । जसमध्ये एक हजार रुपैयाँ बीमा शुल्क कायम भएको एक लाख बीमाङ्क र पाँच सय रुपैयाँ कायम गरिएको ५० हजार रुपैयाँको बीमाङ्क रकम रहेको थियो । जसमा पारिवारको बीमा गर्दा ५० प्रतिशत छुट दिई एक लाखका लागि छ सय रुपैयाँ र ५० हजारका लागि तीन सय रुपैयाँ बीमा शुल्क कायम गरिएको थियो । त्यसमा पनि सरकारले ५० प्रतिशत अनुदान दिँदा अहिले एक लाख रुपैयाँको बीमा तीन सय रुपैयाँमा र ५० हजार रुपैयाँको बीमा एक सय ५० रुपैयाँमा हुन्छ ।

सरकारले अनुदान दिन थालेसँगै ५० हजार रुपैयाँ बीमाङ्क रहेको बीमालेख बिक्री नभई एक लाख रुपैयाँ बीमाङ्क भएको बीमालेख मात्रै बिक्री भएको समितिका अध्यक्ष चापागाईंले बताए । त्यस्तै अहिलेसम्म ९५ जना कोभिड १९ संक्रमित व्यक्तिले दावी भुक्तानी पाइसकेको पनि उनले बताए । त्यसबाहेक अहिले करिब दुई सय ५० जनाको दावी परेको र त्यसको फरफारक हुन बाँकी रहेको अध्यक्ष चापागाईंले बताए ।

अहिलेको कोरोना बीमालेख एक पटकका लागि मात्रै भएको पनि अध्यक्ष चापागाईंले स्पष्ट पारे । एकपटक दावी भुक्तानी भएका व्यक्तिले कोरोना निको भएपछि फेरि कोरोना बीमा गर्न सक्ने व्यवस्था अहिले नरहेको उनले बताए । तर त्यस्ता व्यक्तिबाट बीमालेखको माग हुन आएमा समितिको सञ्चालक समितिको बैठक बसेर मापदण्डमा परिमार्जन गरी बीमा गर्न दिने व्यवस्था गर्न सकिने पनि उनले बताए ।

एकपटक संक्रमण भई निको भएका व्यक्तिमा फेरि संक्रमण देखा पर्दैन भन्ने मान्यता अनुरुप कोरोना बीमाको मापदण्ड बनाइएकाले दावी भुक्तानी लिएपछि संक्रमण निको भएमा पुनः बीमा गर्न नसकिने उनले स्पष्ट पारे ।

अहिलेको व्यवस्थाअनुसार बीमा कम्पनीलाई कोरोना बीमाको कुनै पनि दायित्व नपर्ने पनि अध्यक्ष चापागाईंले बताए । उनले बीमा कम्पनीहरुले एक अर्ब रुपैयाँसम्म दायित्व लिनुपर्नेमा अहिले नेपाल सरकारले सबै कर्मचारीको बीमा गर्दा एक अर्ब प्रिमियम पुग्ने भएकाले बीमा कम्पनीहरुमाथि कुनै दायित्व नपर्ने उनले बताए ।

एक अर्बभन्दा माथि साढे तीन अर्बसम्म पुनर्बीमा कम्पनी र बीमा समितिले व्यहोर्ने पनि उनले बताए । साढे तीन अर्बभन्दा माथिको बीमा दावी भुक्तानी भने नेपाल सरकारले गर्नेछ । एकपटक कोरोना बीमा गरेपछि २०७८ असार मसान्तसम्म कोरोना संक्रमण पुष्टि भएमा बीमाङ्क रकम दावी गर्न पाइनेछ ।

Loading...