Rumpum

Rumpum Advertisement

केराबारीमा ‘क्रसर डन’को दादागिरी, उपाध्यक्षमाथि हप्कीदप्की

केराबारीमा ‘क्रसर डन’को दादागिरी, उपाध्यक्षमाथि हप्कीदप्की

विराटनगर, १४ भदौ । मोरङको केराबारीमा क्रसर व्यवसायीले कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणमा दादागिरी शैलीमा अवरोध पु¥याएका छन् । संक्रमण नियन्त्रणका लागि गाउँपालिकाले गरेको प्रयासमा क्रसर सञ्चालकहरुले अवरोध गरेका हुन् ।

गाउँपालिकाले सर्वपक्षीय बैठकबाट पालिकाको सबै नाका शील गर्ने र आवतजावतलाई पूर्णरुपमा रोक लगाएको थियो ।

कडाइँका लागि सुरक्षा समिति गठन गरेरै स्वयंसेवक परिचालन गरिएका छन् । केराबारीस्थित आमजुँगीको विश्वकर्मा, चोक्टी, आहाले, गोलग्राउण्डसमेतका नाकामा ढाट लगाएको छ ।

तर नाका शील गरिएको र सवारीसाधन चल्न नदिएको भन्दै क्रसर सञ्चालकले उपाध्यक्ष शान्तिकुमारी लिम्बू भुजेलसहितका स्वयम्सेवकहरुलाई दुव्र्यवहार गरेका हुन् । दादागिरी शैलीमा प्रस्तुत भएका उनीहरुले शनिबार साँझ विश्वकर्मा नाकामा अनुगमन गर्न पुगेकी गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी लिम्बू भुजेलसहित स्वयम्सेवकहरुमाथि दुव्र्यवहार गर्दै हप्कीदप्की गरेका हुन् ।

हप्कीदप्की गरेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा क्रसर सञ्चालक वृष थापा र केशव बरालको नेतृत्वमा पुगेको समूह कोरोना नियन्त्रणमा खटिएको टोलीमाथि आक्रोसित बनेको देखिन्छ ।

बरालको केराबारीमा शिवम् क्रसर उद्योग छ । थापाको भने उद्योग वाणिज्य संघ इटहरीका अध्यक्षसमेत रहेका विवादित व्यवसायी भीम पौडेलको महादेव क्रसर उद्योगमा संयुक्त लगानी छ ।

स्थानीयका अनुसार पौडेल शनिबार साँझ वडा नम्बर ८ को विश्वकर्मा नाका हुँदै केराबारी प्रवेश गर्न खोजेका थिए । स्वयम्सेवकहरुले प्रवेश गर्न नदिएपछि उनी फर्किएका थिए । पौडेललाई प्रवेश गर्न नदिएको झोंकमा क्रसर ‘डन’ आएर बादविवाद गर्दै नाकामा खटिएकाहरुलाई हप्कीदप्की र दुव्र्यवहार गरेका हुन् ।

गाउँपालिका उपाध्यक्ष भुजेलले मदिरा सेवन गरेर आएका क्रसर व्यवसायीले आफू र कोरोना नियन्त्रणमा खटिएका स्वयम्सेवकहरुसमेतलाई अश्लील ढंगले गालीगलौज एवम् दुव्र्यवहार गरेको बताइन् ।

‘रक्सीले मातेर आइपुगेका उनीहरु एक्कासी दादागिरी शैलीमा प्रस्तुत भए,’ उनले भनिन्, ‘हामीले सम्झाईबुझाई गर्दा पनि उनीहरु चाहिँ दुव्र्यवहारमा उत्रिए ।’

क्रसर ‘डन’सँग बादविवाद भएको केहीबेरमा केराबारी–६ को आहाले नाकामा लगाइएको ढाट तोडफोड भएको छ ।

नाका शील गरिएको जानकारी दिँदै कोरोनाविरुद्ध टाँगिएका ब्यानर, सडकको सूचना पाटीहरु लगायतमा आगजनी गरिएको वडा सदस्य मेघराज राईले बताए । उनका अनुसार बेलुका ७ः३० बजेतिर लट्ठीसहित तीनवटा मोटरसाइकलमा आएको समूहले तोडफोड र आगजनी गरेका हुन् ।

एउटा नाकामा विवाद भएको केहीबेरमा अर्को नाका ढाट तोडफोड र आगजनी गरिएको घटनामा ‘क्रसर डन’कै संलग्नता रहेको हुन सक्ने स्थानीयले बताए ।

सावधानी र सतर्कताविरुद्ध दादागिरी शैलीमा धावा बोल्दै क्रसर व्यवसायीले कोरोना महामारी नियन्त्रणमा अवरोध सिर्जना गर्न थालेको उपाध्यक्ष भुजेलले बताइन् ।

स्थानीय बासिन्दाका अनुसार केराबारीको खदम खोलामा शनिबार साँझ ‘क्रसर डन’ले बँदेलको मासुसहितको सामूहिक भोजको आयोजना गरेका थिए ।

पौडेलले भने भोजमा नभइकन आफ्नो क्रसर उद्योगमा जान खोजेको बताए ।

विवाद गर्नेमध्येका एक बरालले भने ढाट लगाएर मनपरि गरिएको बताए । ‘समस्यामा कतै जान खोज्नेलाई रोकिन्छ । अनावश्यकलाई भने हिँडडुल गर्न दिइन्छ,’ उनले भने, ‘त्यही भएर विरोध भएको हो ।’

गाउँपालिका अध्यक्ष रोहित कार्कीले नाकामा भएको विवाद, तोडफोड र आगजनीका बारेमा केही थाहा नभएको बताए । नाकामा खटाइएका स्वयम्सेवकले मलामी र मृत्यु संस्कारमासमेत जान नदिने गरेको गुनासो आएपछि व्यवसायीले विरोध गरेको हुन सक्ने उनले बताए । गाउँपालिका अध्यक्ष कार्की पनि क्रसर सञ्चालक हुन् । उनको केराबारीमा कृष्ण क्रसर उद्योग सञ्चालनमा छ ।