Rumpum

Rumpum Advertisement

मेस्सीले कोरोना परीक्षण गर्न मानेनन्

मेस्सीले कोरोना परीक्षण गर्न मानेनन्

एजेन्सी, १४ भदौ । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले कोरोना परीक्षण गर्न अस्वीकार गरेका छन् । सोमबार (भोलि)बाट प्रशिक्षणमा फर्किने तयारीमा रहेको बार्सिलोनाबाट मेस्सीले पीसीआर परीक्षण गर्न नमानेको बताइएको छ ।

प्रि–सिजनको तयारीमा रहेको बार्सिलोनाले आइतबार बिहान सबै खेलाडीको कोरोना परीक्षण गरेकाे थियो । तर, ३३ वर्षीय मेस्सीले भने कोरोना परीक्षण गर्न नमानेको इटालियन पत्रकार मार्सेलो बेकरले जनाएका छन् ।

आज जोर्डी अल्बा र मार्टिन ब्रेथवेट सबैभन्दा पहिले कोरोना परीक्षणका लागि मैदानमा उपस्थित भएकाे स्पेनिस मिडिया मार्काले जनाएकाे छ ।

मेस्सीले भने शनिबार नै कोरोना परीक्षण गर्न अस्वीकार गर्दै बार्सिलोनासमक्ष जानकारी गराएका थिए ।

क्लब छोड्ने जानकारी गराइसकेको हुँदा मेस्सीले पीसीआर परीक्षण गर्न अस्वीकार गरेको पत्रकार बेकरले ट्वीटमा खुलाएका छन् । क्लब छोड्ने निर्णय लिएपनि बार्सिलोनाले मेस्सी प्रशिक्षणमा फर्किने अपेक्षा गरेको थियो ।

बार्सिलोनाका नयाँ खेल निर्देशक रामोन प्लानले कोरोना परीक्षण गरी खेलाडीलाई सोमबारबाट प्रशिक्षण मैदान फर्काउने योजनामा छन् । तर, मेस्सीले कोरोना टेस्ट गर्न अस्वीकार गरेपछि बार्सिलोना दबाबमा परेको छ ।

गत मंगलबार साँझ मात्र ३३ वर्षीय मेस्सीले क्लब छोड्ने जानकारी बार्सिलोनालाई गराएका थिए । मेस्सीले बार्सिलोनाबाट निरन्तरता नदिने भन्दै यसै समरमा क्लब छोड्ने वातावरण मिलाइदिन बोर्डसँग प्रस्ताव राखेका थिए ।

यता, बार्सिलोनाले भने उनको प्रस्ताव अस्वीकार गरेको जनाइएको छ । यसै कारण बार्सिलोना र मेस्सीबीचको विवाद बढ्नसक्ने देखिएको छ ।