मेस्सीको १० नम्बर जर्सी लगाउने ब्रेथवेटको इच्छा

एजेन्सी, १४ भदौ । बार्सिलोनामा लियोनल मेस्सीको १० नम्बर जर्सी खाली हुने सम्भावना देखिएको छ । अर्जेन्टिनी स्टार मेस्सीले क्लब छोड्ने अडान लिएसँगै बार्सिलोनामा १० नम्बर जर्सी खाली हुनसक्ने देखिएको हो ।

३३ वर्षीय मेस्सीले गत मंगलबार तेस्रो पटक बार्सिलोना छोड्ने निर्णय लिएको जनाएका थिए । बार्सिलोनाको अफिसमा फ्याक्स गर्दै सर्वाधिक धेरै छ पटकका बालोन डी‘ओर विजेता मेस्सीले यसै समरमा क्लब छोड्ने वातावरण मिलाइदिन बोर्डसँग आग्रह गरेका थिए ।

यस्तै उनले आइतबार हुने खेलाडीको पीसीआर परिक्षणमा आफू सहभागी नहुनेसमेत बताएका छन् । यता, बार्सिलोनाले भने मेस्सीको भविष्यको वषयमा छलफल गर्ने प्रस्ताव अस्वीकार गरेको थियो ।

यसअघि सन् पनि २०१४ र २०१६ मा गरी दुई पटक क्लब छोड्ने निर्णय गरेका थिए ।

सन् २०१४ मा खराब सिजन भएका कारण र २०१६ मा करको समस्याका कारणले उनले क्याप नोउ छोड्ने मनसाय बनाएका थिए । तर, यसपटक भने उनले उनले क्लब छोड्ने अडानलाई निरन्तरता दिएका छन् ।

उनले छोड्ने भएपछि बार्सिलोनामा १० नम्बर जर्सी कसले लगाउने भन्ने विषयको चर्चा पनि सुरु भएको छ । यस्तैमा डेनिस स्टार मार्टिन ब्रेथवेटले बार्सिलोनासँग १० नम्बर जर्सीका बारेमा सोधेका छन् ।

स्पेनिस मिडिया ‘२० मिनेट’का अनुसार यसै सिजन बार्सिलोना आएका मार्टिनले मेस्सीको जर्सी लगाउने इच्छा व्यक्त गर्दै बार्सिलोनासँग सोधेका हुन् ।

यसै सिजन लेगानेसबाट बार्सिलोना आएका उनले त्यहाँ १९ नम्बरको जर्सी लगाउँथे । त्यसअघि इंग्लिस क्लब मिडल्सबर्गबाट खेलेका उनले त्यहाँ १० नम्बरको जर्सी लगाउँथे ।

Loading...