कोरोना महामारीमा फ्रन्टलाइनरका पीडा : प्रोत्साहन छैन, सुरक्षा सामग्री माग्दै आन्दोलन

विराटनगर, १४ भदौ । कोरोना महामारीको बेला निजी र सरकारी अस्पतालहरुमा फ्रन्टलाइनमा खटिन नर्सहरु पाउनुपर्ने आधारभूत सुरक्षा सामग्री र प्रोत्साहन भत्ताको अधिकारबाट बञ्चित भएका छन् ।

निजी र सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुले आधारभूत सुविधाहरु पाए पनि सबैभन्दा अग्रभागमा खटिने र ड्युटी अवधिभर बिरामीसँगै रहने नर्सहरुले सुरक्षा सामग्री, न्यूनतम जोखिम भत्ता र प्रोत्साहनबाट बञ्चित भएका हुन् ।

नोबेल अस्पतालमा कार्यरत नर्सहरुले मासिक पाँच हजार जोखिम भत्ता दिनुपर्ने, सुरक्षा सामग्री दिनुपर्ने, इमरजेन्सीमा खटिने नर्सहरुलाई कोभिडमा खटिनेसरह सुविधा उपलब्ध गराइनुपर्ने, अस्पतालकै खर्चमा क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउनुपर्ने र कोरोना पोजेटिभ भए आइसोलेसनमा राख्ने र उपचार केन्द्रको सबै खर्च बेहोर्नुपर्ने माग गरेका थिए ।

१५ देखि २० हजारसम्म मासिक पारिश्रमिक पाउँदै आएका नर्सहरुले जायज मागलाई नोबेल प्रशासनले वास्ता गरेन । यसैले सात वर्षदेखि काम गर्दै आएका ५५ जना नर्सहरु सामूहिक राजिनामा दिएका थिए ।

नोबेल प्रशासन स्रोतका अनुसार हाल अस्पतालले राजिनामा दिएका नर्सहरुलाई फुटाउ र शासन गरको शैलीमा फकाएर धमाधम काममा फिर्ता बोलाइरहेको छ । आफूहरुले चार हजारसम्म प्रोत्साहन भत्ता दिन तयार भए पनि एक हजारमा कुरो नमिल्दा उनीहरु आफैंले राजिनामा दिएको भनेर नर्सहरुलाई बदनाम गराइरहेको छ ।

राजिनामा दिन बाध्य एक नर्सले भनिन्, ‘हामीले तीन हजारसम्म मासिक प्रोत्साहन भत्ता भए पनि हुन्छ भनेका थियौं तर अस्पताल प्रशासनले हाम्रो कुरा वास्तै नगरेपछि राजिनामा दिन बाध्य भएका हौं, अहिले प्रचार गरिएजस्तो हैन, त्यो झुठो हो ।’

नर्सिङ एसोसिएसन मोरङ सचिव मेनुका भण्डारीका अनुसार एकजना नर्सले १५ हजारदेखि २० हजारसम्म तलब पाउँछन् । त्यसमा पनि सामाजिक सुरक्षा कोष काटिएर साढे १२ हजार जति मात्र आउँछ ।

एकजनाले न्यूनतम तीनदेखि पाँच हजारसम्म घरभाडा तिर्नु पर्छ । बचेको पैसाले खान पनि धौधौ हुन्छ । घरपरिवार भएका नर्सहरुलाई त जीविका चलाउन झन् गाह्रो हुन्छ । उनीहरुले ओभरटाइम पनि पाउँदैनन् । महामारीको बेलामा त आफ्ना लागि सुरक्षा सामग्रीहरु आफैंले खरिद गर्नुपर्ने बाध्यता त छँदैछ ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० वर्षदेखि कार्यरत स्थायी, अस्थायी र करारका नयाँ नर्सहरुसमेत सहभागी भएर पर्याप्त मास्क, सेनिटाइजर र पीपीई उपलब्ध गराउनु पर्ने, बढेको तलब दिनु पर्ने, जोखिम भत्ता उपलब्ध गराउनु पर्ने र क्वारेन्टिन र आइसोलेसनमा बस्ने व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

नर्स सफला बुढाथोकीका अनुसार महामारीको बेला सधैं फ्रन्टलाइनमा खटिने नर्स कर्मचारीहरुले गरेका मागहरु अति नै आवश्यक भएको बताउँछिन् ।

अखिल नेपाल जनस्वास्थ्यकर्मी संंघ प्रदेश १ इन्चार्ज अन्जना पोखरेलका अनुसार निजी अस्पतालमा कार्यरत नर्सहरु अझै चरम श्रमशोषणमा छन् । उनीहरुलाई अस्पतालहरुले विभिन्न बहानामा न्यून तलब दिइरहेका छन् । पाउनु पर्ने तलब पनि समयमा पाउँदैनन् ।

कसैले दुई महिना त कसैले तीन महिनामा तलब पाउँछन् । जसले नर्सहरुलाई आफ्नो र परिवारको गुजारा चलाउन सधैं धौधौ पर्ने गरेको छ । धेरै निजी अस्पतालहरुले लकडाउनको बहाना बनाएर धेरै नर्सहरुलाई तलब नै दिएका छैनन् । दिए पनि आधामात्र दिइरहेका छन् ।

आफू पनि कोरोना संक्रमित भएर उपचार केन्द्रमा उपचार गराइरहेकी इन्चार्ज पोखरेल भन्छिन्, ‘डाक्टरहरुको बारेमा बोलिदिने चिकित्सक संघ छ तर नर्सहरुको बारेमा बोलिदिने संघसंस्थाहरु समेत नहुँदा उनीहरु ज्यादति सहन बाध्य छन्, यसैले उनीहरुको माग सम्बोधन गरिनुपर्छ ।’

नर्सहरुको अधिकारका लागि वकालत गर्दै आएको एन्टिकरप्सन मुभमेन्ट नेपालका अध्यक्ष पारुल क्षेत्री श्रमशोषणमा पर्दै आएका फ्रन्टलाइनर नर्सहरु महामारीको बेला ज्यानको जोखिममा समेत परेका छन् ।

अर्कोतिर उनीहरुले समाजिक तिरस्कारको सामना पनि गर्नु परिरहेको छ । आजकल नर्सहरुलाई घरबेटीले भाडा दिँदैनन् । बस्दै आएकाहरुलाई पनि कोरोना सल्काउँछन् भनेर तर्किने र छिछि–दुरदुर गर्ने व्यवहार नर्सहरुले भोग्नु परिरहेको छ ।

नर्सहरुले अस्पतालहरुमा पर्याप्त सुरक्षा सामग्री पनि पाइरहेका छन् । मास्क र सेनिटाइजरकै भरमा ड्युटीमा खटिरहनु पर्ने बाध्यता छ । निजी अस्पतालहरुले जोखिम भत्ता दिन, बिमा गराउन र क्वारेन्टाइन र आइसोलेसनको सुविधा दिन चाहिरहेका छैनन् । जसले गर्दा महामारीको बेला जोखिममा काम गरिरहेका नर्सहरुको आत्मवलमा ह्रास आइरहेको छ । यसैले नर्सहरुको माग अति आवश्यक भएकाले सरकारले तुरुन्त सम्बोधन गर्नुपर्ने अध्यक्ष क्षेत्री बताउँछन् । भन्छन्, ‘महामाहारीको बेला नर्सहरुको ज्यान पनि जोखिममा छ, यसैले उनीहरुको आधारभूत मागलाई सरकारले सम्बोधन गर्नैपर्छ ।’

तस्बिर स्रोत: गुगल

Loading...